तनह“ुमा बन्ला हजार शैय्याको अस्पताल ?

दमौली  । गण्डकी प्रदेशको सरकारले एक हजार शैयाको अस्पताल बनाउन निर्णय गरेसँगै अस्पताल तनहुँमासमेत बन्ने सम्भावना देखिएको छ । अस्पताल बनाउने निर्णय बजेटमै गरेको सरकारले जग्गाको खोजी थालेको छ । 
विशिष्ट खालका पाँच वटा रोगको उपचार गर्ने उद्देश्यका साथ अस्पताल खोल्ने तयारी गरिएको हो । अस्पतालका लागि जग्गाको टुंगो भने लागेको छैन । जग्गाको खोजी शुरु हुँदा तनहुँलाई पनि प्राथमिकतामा राखिएको छ । सरकारले गठन गरेको विशेष समितिले सम्भावित जग्गाको अध्ययन गरेर सामाजिक विकास मन्त्री नरदेवी पुनलाई प्रतिवेदन दिएको छ । प्राडा डुकबहादुर क्षेत्री संयोजकत्वको समितिले तयार गरेको प्रतिवेदनमा तनहुँको शुक्लागण्डकी नगर क्षेत्रसहित झण्डै दर्जन ठाउँ सिफारिस गरिएको छ । सार्वजनिक नगरिएको प्रतिवेदनमा तनहुँको शुक्लागण्डकी क्षेत्रसँगै पोखरा लेखनाथ महानगरभित्रका भाग सुझाइएको छ । सरकारी मापदण्डअनुसार एक सय शैयाको अस्पतालका लागि कम्तीमा २५ रोपनी जग्गा आवश्यक पर्छ । एक हजार शैयाका लागि कम्तीमा दुई सय ५० रोपनी जग्गा आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । 
त्यसबाहेक पाँचवटा विशिष्टीकृत रोगको उपचार गर्ने अस्पतालको पनि शैया तोकिएको 
छ । विस्तृत अध्ययन प्रतिवेदन 
(डिपिआर) बनाउनुपर्ने भएकाले अहिले लागत अनुमान भने नगरिएको समितिका एक सदस्यले बताए । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अहिले पाँच सय शैयाको छ । प्रतिवेदन बुझेपछि मन्त्री पुनले पोखरालाई स्वास्थ्य क्षेत्रको हब बनाउन सकिनेमा आफू आशावादी रहेको बताइन् । 
उनले अस्पताल निर्माणको लागि आवश्यक प्रक्रिया तत्काल सुरु गर्ने बताइन् ।प्रदेशभित्र विशेष पूर्वाधार नहुँदा अहिले जटिल रोगका बिरामीले उपचारमा पोखरा बाहिर जानु पर्ने बाध्यता छ । धेरैले काठमाडौ र विदेशमा पुगेर उपचार गराउन बाध्य छन् । 
प्रदेश सरकारले एक हजार शैयाको ‘जनरल’ सहित मुटु, मिर्गौला, क्यान्सर, महिला र बालरोगको उपचार गर्ने गरी विशिष्टीकृत अस्पताल बनाउन योजना बताएको हो ।