हाईस्कूलटारमा सुरक्षा बढाउ

व्यास १ हाईस्कूलटारमा असुरक्षा बढेको जनगुनासो आएको छ । यसअघि पनि पटक पटक हिंसात्मक झडप र मानिसको ज्यानै जाने घटना भएको क्षेत्रमा नियमित सुरक्षा गस्ती नहुँदा स्थानीय त्रासमा बाँच्नु परिरहेको छ । लागुपदार्थका प्रयोगकर्ताको चहलपहल अनि हात हतियारसहित निस्कने र झडपसमेत गर्ने भएकाले त्यस क्षेत्रको सुरक्षा बढाउनुपर्ने माग स्थानीयको छ । विगतमा सुरक्षा व्यवस्था चुस्त नहुँदा ज्यानै गुमाउनु परेको घटनाका कारण पनि स्थानीयमा त्रास बढ्नु स्वभाविक हो । प्रहरीले त्यस ठाउँको सुरक्षा व्यवस्था बलियो पार्नका लागि निगरानी बढाउनु जरुरी देखिएको छ । नियमित गस्ती र उच्छृंखल क्रियाकलाप गर्नेमाथि निगरानी मात्र बढाउन सकिएमा उनीहरुका खराब गतिविधिमा कमी आउन सक्छ । यसले स्थानीयको शान्ति र अमनचयनपूर्वक बाँच्ने सपना पनि पुरा हुन्छ । प्रहरीले तदारुकताका साथ काम गरेर नागरिकको सुरक्षाको चाहनालाई पुरा गर्नु जरुरी छ । अन्यथा फेरि पनि विगतकै जस्ता घटना नदोहोरिएलान् भन्न सकिन्न ।