बीपी वन वाटिकामा एन्फाले खेल मैदान बनाउने

 दमौली  । दमौलीको बीपी वन वाटिका खेल मैदान निर्माण तथा सञ्चालनका लागि व्यास नगरपालिकाले तनहुँ जिल्ला फुटबल संघ एन्फाको जिम्मा लगाएको छ । बुधबार नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पाँच वर्षसम्मका लागि मैदान एन्फाको जिम्मामा दिने समझदारी पत्रमा हस्तक्षर भएको छ । व्यास नगरपालिकाका तर्फबाट नगर प्रमुख बैकुण्ठ न्यौपाने तथा एन्फा तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका 
हुन् । यसअघि जिल्ला समन्वय समितिले खेल मैदानसहितको ५३ रोपनी जग्गाको भोगाधिकार पाँच वर्षसम्मका लागि जिल्ला समन्वय समितिले व्यास नगरपालिकालाई दिएको थियो । अब व्यास नगरपालिकाले पाँच वर्षका लागि जिम्मा दिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । समझदारी पत्रअनुसार एन्फाले मैदानमा तारबारका साथै खेल मैदानका लागि आवश्यक संरचना बनाउन पाउनेछ । एन्फाको गोल प्रोजेक्टअन्र्तगत खेल मैदान विकास र सुधारका काम हुने एन्फा अध्यक्ष श्रेष्ठले बताए । एन्फाले एक जिल्लामा एक प्रोजेक्ट सञ्चालन गर्ने  नीतिअनुसार तनहुँलाई पनि छनौट गरेको छ । प्रोजेक्टअन्र्तगत मैदान सुधारका लागि पाँच लाख रुपैयाँ एन्फा केन्द्रले तनहुँलाई विनियोजन गरेको छ । थप बजेट पनि क्रमिक रुपमा आउने  र खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने श्रेष्ठले बताए । एन्फालाई व्यास नगरपालिकाले सम्झौता पत्रमा पाँच वर्षभित्र गर्ने विकास कार्यमा पनि सघाउने उल्लेख गरिएको छ । नगरपालिकाले तारबेरका लागि कुल लागतको एक प्रतिशत सहयोग गर्ने तथा मैदानसम्म पूर्वाधार विकासमा सघाउने सम्झौता पत्रमा उल्लेख गरेको छ । 
यसअघि मैदानलाई विकास गर्नका लागि व्यास ३ को वडा कार्यालयले समेत बजेट विनियोजन गरेर काम गरेको थियो । यसअघि मैदान सम्याउने काम भएकामा थप विकास गर्ने योजना वडा कार्यालयको थियो । अब भने सबै काम एन्फामार्फत नै अघि बढ्ने एन्फा अध्यक्ष श्रेष्ठले बताए । दमौलीको पहिलेको खेल मैदान फुटबलका लागि उपयुक्त समेत नभएको र तत्कालीन जिल्ला विकास समितिले अनुमति समेत नदिएपछि व्यास नगरपालिकाले बीपी वनवाटिका मैदानलाई नै विकल्पका रुपमा अघि सार्न लागेको थियो । हालैको जिल्ला सभाले दमौली अस्पताल अघिको मैदानलाई पार्कका रुपमा विकास गर्न नगरपालिकालाई अनुमति दिए पछि बीपी वनवाटिका मैदान नै खेल मैदानका रुपमा रहने चर्चा चलेको थियो । अब मैदानको विकास गरेर फुटबलसँगै अरु खेलका लागिसमेत उपयोगी हुने गरी विकास हुनुपर्ने माग खेलप्रेमीले गरेका छन्  ।