चौताराका लागि लाखको दान

 दमौली  । व्यवसायीको एक लाख रुपैयाँ बराबरको निःशुल्क ढुंगा दानपछि व्यास १ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको अगाडि चौतारा निर्माण गरिएको छ । 
व्यास १ घाँसीकुवामा रहेको पूर्ण झाँकी ढुंगा कटिङ उद्योगले आदिकवि क्याम्पसको पब्लिक क्याम्पस संघ एकाईको सक्रियतामा निर्मित चौताराका लागि एक लाख बराबरको सबै ढुंगा निःशुल्क रुपमा उपलब्ध गराएको 
हो । उद्योगका सञ्चालकसंगम घर्ती र सोममाया गुरुङले यसअघि पनि व्यास ३ अनशन चौतारामा ४० हजार रुपैयाँ बराबरको ढुंगा निःशुल्क दान गरेका थिए । चौताराको चलन पनि हराउन थालेको र धेरैका लागि फाइदा पुग्ने भएकाले सहयोग गरेको सञ्चालक घर्तीले बताए । ‘पुण्यको काममा सघाउन पाउँदा खुशी लागेको छ,’ उनले भने । चौताराका लागि ढुंगा निःशुल्क प्राप्त भए पछि थप एक लाख ९० हजार रुपैयाँ खर्च भएको एकाईका सचिव विश्वेश्वर तिमल्सेनाले जानकारी दिए ।
चौताराको व्यास नगरपालिकाका नगर प्रमुख एवं क्याम्पसका पूर्व प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरे । उनले चौताराका लागि सघाउने सबैमा आभार प्रकट गरे । क्याम्पसको भौतिक विकासका लागि सघाउँदै आएको लायन्स क्लब अफ तनहुँको सक्रियतामा क्याम्पस क्षेत्रमा एभोकाडो रोपण गरिएको थियो । क्याम्पसको द्वारमा लगाइएको एभोकाडोको बिरुवा हुर्केपछि चौतारो लगाइएको एकाइका अध्यक्ष विजयराज खनालले बताए ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेत, क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलगायतले चौतारोले क्याम्पस क्षेत्रमा शोभा दिएको भन्दै निर्माणमा सघाउनेप्रति आभार प्रकट गरे ।
चौतारोका लागि व्यास नगरपालिका तथा राष्टिूय सभा सदस्य प्रकाश पन्थलेसमेत आर्थिक सहयोग गरेको एकाईले जनाएको छ ।