कृष्ण मार्गको काममा ढिलाई कागज गराएर काम सक्न दबाब

 दमौली  । तोकिएको समयमा काम नगर्ने घिरिङस्थित कृष्ण मार्गका ठेकेदारलाई तीन दिनभित्र सवारी चल्न मिल्ने गरी खाल्डा पुर्न दबाब दिंदै घिरिङ गाउँपालिकाले कागज गराएको छ । शनिबार घिरिङ २ च्युरीभीरमा पहिरो गएका कारण मार्ग तीन दिन अवरुद्ध बनेको थियो । निर्माण कम्पनी सन्तोषी निर्माण सेवाको डोजर अपरेटर नै नभएका कारण मार्ग खुलाउन तीन दिन लागेको थियो । तीन दिनपछि सोमबार निजी क्षेत्रका अपरेटरको सहायताले निर्माण सेवाले च्युरीभीरको पहिरो हटाएपछि मात्र तनहुँ, स्याङजा र पाल्पाको दक्षिण पश्चिम भेगको मेरुदण्ड मानिने मार्ग खुलेको थियो । अझै पनि मार्गका धेरै भागमा यातायात चलाउन नमिल्ने गरी खाल्डाखुल्डी नहटेपछि गाउँपालिकाले ठेकेदारलाई जनप्रतिनिधिको रोहबरमा तीन दिनभित्र खाल्डा पुरेर यातायात सञ्चालनयोग्य बनाउन दबाब दिएको हो । गाउँपालिका अध्यक्ष रनबहादुर रानाले पटक पटक अटेरी गरेपछि बाध्य भएर कागज गराएको बताए । ‘जहिल्यै पनि गर्छु गर्छु भनेर उम्कने गरेका छन्,’ उनले भने,‘नागरिकले सास्ती खेपेपछि अब कडा कदम चाल्दैछौं ।’गाउँपालिकाले डाकेको जनप्रतिनिधिसहितको सर्वपक्षीय बैठकमा निर्माण सेवाका प्रतिनिधि शिवप्रसाद पौडेलले काम सक्ने भन्दै कागजमा हस्ताक्षर गरेका थिए । गाउँपालिका अध्यक्ष राना, उपाध्यक्ष सरस्वती सिग्देल, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष ढुंगाना, वडाध्यक्ष पूर्णबहादुर थापासहित मोटर मार्गका अध्यक्ष चुनारायण श्रेष्ठलगायत जनप्रतिनिधि तथा सरोकारवालाको रोहबरमा कागज गराइएको हो । 
समयमा काम नसकेमा ठेकेदारमाथि कारबाहीको प्रक्रिया थाल्ने अध्यक्ष रानाले बताए । ‘ठेकेदारले काम सक्नुपर्ने धेरै अगाडि हो,’ उनले भने,‘विभिन्न बाहनामा पटक पटक म्याद थपिंदै आएको छ ।’ ठेक्का लागिसकेकाले आफूहरुले छुट्टै बजेट विनियोजन गरेर काम गर्न  नमिल्ने भएकाले पनि ठेकेदारलाई दबाब दिएर काममा लगाउनुको विकल्प नभएको उनले बताए । ‘जनताको दबाब ठूलो छ ।,’ उनले भने,‘तर हामी बाध्यतामा छौं ।’ कानूनले एउटै कामका लागि दुईतर्फी काम हुन दिंदैन । ‘ठेक्का तोड्ने अधिकार हामीसँग छैन,’ अध्यक्ष रानाले भने,‘ठेकेदारले काम गर्ने भएकाले आफ्नो बजेट खर्च गर्नु पनि भएन । हामी ठेकेदारलाई नै दबाब दिएर काम लिने पक्षमा छौं ।’
कृष्ण मार्गको स्तरोन्नतीका लागि ठेक्का पाएको निर्माण सेवाले काम गत पुष मसान्तमा सक्नुपर्ने 
थियो । तर २४ किलोमिटर सडकको स्तरोन्नतीको काममा खास प्रगति नगरेकाले असार मसान्त हुँद असोज मसान्तसम्मको म्याद पाएको छ । गत असार मसान्तसम्ममा ३५ प्रतिशत मात्र काम भएको जिल्ला प्राविधिक कार्यालयको अध्ययनले देखाएको 
छ । समयमा काम नसक्दा उसले गत जेठसम्म मात्र २२ लाख रुपैयाँ जरिवाना तिरिसकेको छ ।
ठेकेदार कम्पनीले अन्तिम म्याद पाएपछि काम गर्न भन्दै प्रशस्तै मेशिनरी सामानसमेत भित्र्याएको थियो । तर उसले भुक्तानी नगर्दा कामदार धमाधम काम छाड्न बाध्य छन् । शनिबारको घटनामासमेत उसका डोजर अपरेटर नभएकाले तीन दिनसम्म बाटो अवरुद्ध हुन पुगेको थियो । 
अब कुनै पनि हिसाबले बाटो अवरुद्ध हुन नदिनेगरी दबाब दिएको रानाले बताए । निर्माण सेवाका प्रतिनिधि पौडेलले बैठकमा वर्षामा बाटो नरोकिने गरी डोजर तथा मजदुर तैनाथ राख्ने प्रतिवद्धता जनाएका 
छन् ।