नेकपाको छलफल लम्बियो नेतृत्व चयनमा अझै अन्यौल

दमौली  । नेकपा तनहुँको नेतृत्व चयनका लागि जारी बैठक केन्द्रले समय थपेपछि लम्बिएको छ । केन्द्रले एक हप्ताको समय थप गरे पछि नेताहरु औपचारिक बैठक स्थगित गरेर तितरबितर भएका छन् । यद्यपि उनीहरुले आ आफ्नो तहबाट भने छलफल जारी राखेका छन् । 
नाम चयनको विषय टुंग्याउन गृहजिल्ला आएका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान बैठक स्थगित गरेर पोखरा गएका 
छन् । बुधबारबाट बैठक चले पनि नामका विषयमा खास सहमति नभएकाले पनि नेताहरु धेरै आशावादी हुन सकेका छैनन् । नेताहरुले यसअघि बिहिबार जिल्लामा इच्छुकको नामका विषयमा सकेसम्म सहमति नभए छलफलपश्चात नाम पठाउने तयारी गरेका थिए । शुक्रबारसम्म पनि सहमति नजुटेपछि केन्द्रबाट समय थपको हवाला दिंदै नेताहरु फेरि बैठक बस्ने गरेर निस्किएका थिए । पार्टीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठको संयोजकत्वमा तत्कालीन एमाले र माओवादी केन्द्रमा रहेका नेताहरु सम्मिलित कार्यदलको बैठक निरन्तर चलेको थियो । दर्जन बढी आकांक्षी भएको जिल्ला अध्यक्षका लागि तत्कालीन एमालेमा आकांक्षी बढी देखिएपछि व्यवस्थापनमा जटिलता देखिएको छ । अध्यक्षमा सहमति हुने निश्चित नभए पनि जिल्ला कमीटीको नाम टुंग्याउनका लागि समेत बढी समय लागेको ठानिएको छ । 
दुवै पार्टीमा रहेका एक सय ४५ जना अट्ने समितिका लागि तत्कालीन एमालेबाट ५५ र तत्कालीन माओवादीबाट ४५ प्रतिशत सदस्य राख्नेमा करिब सहमति भएको छ । अब नाम अनि अध्यक्ष र सचिवमध्ये कुन कुन दललाई दिने भन्ने विषयमा पछि छलफल बढी केन्द्रीत भएको कार्यदलका एक सदस्य अतिन्द्रकेशरी न्यौपानेले बताए । नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ संयोजक तथा केन्द्रीय सदस्य हरिबहादुर चुमान, एकबहादुर राना, नेतृ  आशा कोईराला, भगवती न्यौपाने, मदन आले, राजेन्द्रकेशरी न्यौपाने , अतिन्द्रकेशरी न्यौपाने, विष्णुभक्त सिग्देल र राजेश्वर ढकाल सदस्य रहेको कार्यदलले नाममा सहमतिको प्रयास गरेको भए पनि प्रदेशमा जिल्लाका सबै आकांक्षीको नाम जाने सम्भावना छ । केन्द्रमा प्रभाव भएकाहरुले नै नेतृत्व पाउने चर्चा पार्टीवृत्तमा चलेको छ ।
तत्कालीन एमाओवादी केन्द्रले नेतृत्वलाई दबाब दिनका लागि आफ्ना तर्फबाट एकजनाको मात्र नाम टुंग्याएकाले पनि अब तत्कालीन एमाले नेतृत्वलाई दबाब छ । तर जिल्लामा पकडको आधारमा तत्कालीन एमालेका नेताहरुले अध्यक्ष पाउने सम्भावना पनि कमजोर छैन । तत्कालीन अध्यक्ष उम्मेदवार शंकरनारायण श्रेष्ठ, हालका कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र तत्कालीन सचिव भगवती न्यौपाने एमालेबाट अध्यक्षका बलिया दाबेदार हुन् । तत्कालीन उप सचिव विष्णुभक्त सिग्देलले पनि आफ्नो पक्षमा परिणामको कसरत गरेका छन् । 
प्रमुख उम्मेदवारहरुले आफूनिकटलाई पनि इच्छा देखाउन लगाएर अन्त्यमा आफ्नो नाममा सहमति गर्ने अस्त्र पनि बाँकी राखेका छन् ।