दुधको मूल्य कटौतीको विरोधमा आन्दोलन

 दमौली  । सरकारी लगानीको दुग्ध विकास संस्थान तथा निजी डेरीहरुले दुधको खरिद मूल्यमा कटौती गरेको विरोधमा दुग्ध उत्पादक किसानले आन्दोलन घोषणा गरेका 
छन् । 
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले मूल्य कटौतीको विरोध गर्दै फिर्ताको माग गरेका हुन् । दुग्ध विकास संस्थान र निजी डेरी समेतले खरिद मूल्यमा तीन रुपैयाँसम्म कटौती गर्दा किसानलाई मार परेकाले आन्दोलनमा जान बाध्य भएको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमरबहादुर कुँवरले बताए । संघले सरकारसँग साविककै मूल्य दिनुपर्ने माग गरेको 
छ । किसानको दुधको बजारको ग्यारेन्टी सरकारले लिनुपर्ने तथा लागतका आधारमा मूल्य समायोजन गर्नुपर्ने माग संघले अघि सारेको छ । दुधको मूल्य निर्धारणका लागि समिति बनाउनसमेत संघले सरकारसँग माग गरेको छ । यसैगरी दुग्ध विकास संस्थानलाई पुनर्संरचना गरी सहकारीकरण गर्न पनि संघले माग गरेको छ । 
माग पुरा गराउनका लागि संघले साउन २८ गते जिल्लाहरुमा आन्दोलन कमीटी गठन गर्ने भएको छ । यसैगरी २९ गते दुग्ध सहकारी, चिस्यान केन्द्र तथा निजी डेरीमा किसानका मागसहितको ब्यानर राख्ने र ३० गतेबाट देशैभर दुध बिक्री गर्दा कालो पट्टी बाँध्ने कार्यक्रम तय भएको छ । 
साउन ३१ ग्तेबाट जिल्लाका कृषक प्रतिनिधिमार्फत दुग्ध विकास संस्थान र मन्त्रालयमा ज्ञापनपत्र पठाउने तथा दोश्रो चरणका आन्दोलन तय गरिने भएको छ । सरकारले किसानलाई राहत दिनुको साटो झनै समस्यामा पारेकाले आन्दोलनमा उत्रनु परेको कुँवरले बताए ।