क्रियापुत्री भवनमा उत्साह

व्यास ३ व्यास गुफा क्षेत्रमा निर्माण हुन लागेको क्रियापुत्री भवनका लागि समाजका विभिन्न क्षेत्रबाट भएको स्वतःस्र्फूत आर्थिक संकलनले सामाजिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ । बिनास्वार्थ समाजको आवश्यकता पूर्ति गर्ने उद्देश्यका साथ गरिएको काममा स्वतःस्फूर्त सहयोग बढ्छ भन्ने सन्देश पनि यस घटनाक्रमले देखाएको छ । भवनका लागि संकलित आर्थिक सहयोगमा रकम ठूलो नउठे पनि धेरैजनाबाट स सानोस्तरमा भए पनि उठेको सहयोगका कारण एक खालको उत्साह देखिएको छ । यसले अन्य क्षेत्रबाट समेत सहयोग संकलन हुने सम्भावनालाई जीवित राखेको छ । सबैका लागि आवश्यक पर्ने भएकाले हिन्दू संस्कार पुरा गर्ने भवनका लागि समाजका विभिन्न क्षेत्रबाट सहयोग आउनुलाई सकारात्मक मान्न सकिन्छ । भवन निर्माणको स्टिमेटभन्दा बढी आर्थिक संकलन गर्न सकिएमा आवश्यक थप संरचनासमेत निर्माण गर्न सकिने सम्भावना छ । त्यसका लागि निर्माण उपभोक्ता समितिको कार्यमा नागरिकस्तरबाट थप साथमा साथ आवश्यक छ । यसो हुन सकेमा क्रियापुत्री भवन अझ वृहत र ठूलो बनाउन सकिन्छ । नागरिक समाजले यसतर्फ सकेको पहल गर्न सकेमा पवित्र उद्देश्य पुरा गर्ने बाटोमा सफलता मिल्नेछ ।