समयमै विकासमा तातौं

समयमा विकासको गृहकार्य नहुनु नेपालको ठूलो विकासे समस्या हो । विकासका लागि सम्बद्ध निकायका प्रतिनिधि नतात्ने गर्नाले देशको धेरैजसो विकास असार मसान्तसम्मै गएर टुंगिने गरेको छ । समयमै प¥याप्त प्रक्रियागत गृहकार्य हुने हो भने समयमा विकास गर्न सकिन्छ । जुन कुरा विकासे मामिलाका जानकारहरुले पटक पटक उठाउने गरेका पनि छन् । समयमै गृहकार्य हुने हो भने विकासका काम राम्रोसँग हुन सक्छन् । पैसा सकिने नाहुँमा हतारमा काम गर्दा सबैभन्दा प्रश्न त्यसको गुणस्तरमा उठेको छ । व्यास ३ को वडा कार्यालयले आफ्नो क्षेत्रको विकास समयमा गर्ने भनेर साउन महिनाबाटै काम थालेको छ, नतिजा कत्तिको सकारात्मक आउला हेर्न त बाँकी छ । तर प्रयास भने यो सकारात्मक नै हो । समयमै उपभोक्ता समिति गठन, सम्झौता अनि निर्माणका प्रक्रिया गति अनुसार अघि बढ्ने हो भने हरेक प्रक्रियाको नियम पुग्छ । हतारो पनि हुँदैन । अनि समयमै काम सकिंदा प्राविधिकहरुले गर्ने अनुगमनका लागि पनि हतारो हुँदैन । नत्र असार मसान्तमा कैयौं ठाउँमा अनुगमन रहँदा प्राविधिकलाई पनि हतारो हुन्छ । तर कसैको कहिले त कसैको कहिले काम सकिंदा प्राविधिकले पनि राम्रोसँग अनुगमन गर्न सक्दछन् । व्यास ३ झैं अरु वडाले पनि समयमा नै पहिल्यै निश्चित भैसकेका योजना कार्यान्वयनका लागि प्रक्रिया थाल्ने हो भने विकास निर्माणमा गति आउने तथा गुणस्तर बढ्ने परिकल्पना गर्न सकिन्छ । यसतर्फ नगरपालिका तथा गाउँपालिका नेतृत्वको ध्यान जानु जरुरी छ ।