मगर संस्कृतिको पर्यटन सम्बन्ध

तनहुँ मगर संस्कृतिका हिसाबले धनी जिल्ला हो । देशमै संस्कृतिका हिसाबले धनी मगर समुदायको बसोबासको केन्द्र भएका कारण तनहुँ मगर संस्कृतिको अध्ययन तथा प्रबद्र्धनका लागि उपयुक्त थलो हो । सांस्कृतिक पर्यटनका हिसाबले समेत तनहुँले मगर संस्कृतिबाट लाभ लिन सक्दछ । यसर्थ तनहुँले मगर संस्कृतिको संरक्षण र प्रबद्र्धन दुवैमा जोड दिनु जरुरी 
छ । तनहुँको ऋषिङ क्षेत्र मगर संस्कृतिका हिसाबले निकै धनी छ । मगरका विभिन्न जातिय संस्कार र संस्कृतिको उपयोग गरेर धेरै होम स्टे विकास गर्न सकिन्छ । संस्कृतिमा आधारित ऋषिङ गाउँपालिकासँगै घिरिङ र अन्य मगरबहुल क्षेत्रले पनि पर्यटन प्रबद्र्धनका लागि संस्कृति संरक्षण र सांस्कृतिक क्रियाकलाप अघि बढाउनु जरुरी छ । यसो हुन सकेमा मगर समुदायको आयस्तरसमेत उकासिने र स्थानीय अर्थतन्त्रको पनि प्रबद्र्धन हुन 
सक्दछ । तनहुँको मानुङ विस्तारै पर्यटनको बाटोमा अघि बढ्दैछ । मगर बस्ती र मगर संस्कृति दुवै पर्यटकीय गहना हुन् । त्यस्तै संस्कृति अन्यत्र पनि छन् । यसको प्रबद्र्धनका लागि स्थानीय तहले विशेष जोड दिएर कार्यक्रम गर्नु जरुरी भएको छ ।