फोहोरको वर्गिकरणमा तातौं

व्यास नगरपालिकालाई कालो प्लाष्टिकमुक्त बनाएको धेरै समय भैसक्यो । तर पनि नगरपालिका प्रदुषणका हिसाबले कम हुन सकेको छैन । नगरपालिकाको फोहोर अझै पनि मादी नदीको किनारमा नै फाल्ने गरिएको छ । पर्यावरणीय दृष्टिकोणले यो ठिक काम होइन । तुलनात्मक दृष्टिकोणले सुन्दर र कम प्रदुषित मादीलाई फोहोर बनाउने काम स्वयं नगरपालिकाले नै गरेको छ । व्यास नगरपालिकाले फोहोर फाल्ने ठाउँको विकल्प त खोजेको  छ । तर सञ्चालनमा आउन सकेको छैन । अबका सहरका चुनौती भनेकै फोहोरको व्यवस्थापन हो । देशको राजधानीले भरिएका कारण फोहोर संकलन गर्न नै नसक्नुजस्तो अवस्था भोली अन्य सहरले पनि भोग्न सक्दछन् । त्यसकारण व्यास नगरपालिकाले पनि यसबारे अहिल्यै सोच्नुपर्ने बेला आएको छ । यसअघि नै नगरमा फोहोर वर्गीकरणको विषय उठेको थियो । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइले पनि फोहोरको वर्गीकरण थालेको थियो । तर त्यो टिक्न सकेन । नगरपालिकाले जैविक र अजैविक फोहोरको वर्गीकरण गराउने हो भने धेरै कम फोहोर नष्ट गर्नुपर्ने अवस्था  आउँछ । अनि अजैविक  प्लाष्टिक, फलामजस्ता फोहोरलाई  बिक्री गरेर नगद आर्जन  पनि  गर्न सकिन्छ । जैविक फोहोरलाई मलका रुपमा बेच्न सकिन्छ । यसले गर्दा ल्याण्डफिल साइट भरिने समस्या पनि रहँदैन । अनि आम्दानी पनि बढाउन सकिन्छ । नगरपालिकाले निजी क्षेत्रलाई पुरै जिम्मा दिएर नगद आर्जन पनि गर्न सक्दछ । यसो हुनु साँच्चैको सफा,सुन्दर र हराभरा व्यास नगरका लागि गतिलो पाइला हुनेछ ।