सामाजिक सहिष्णुताको आवश्यकता

देशमा तत्कालिन माओवादी सशस्त्र द्वन्द्वका क्रममा रोपिएको बिउका कारण खासगरी पहिलो संविधान जारी हुँदाताकाबाट देखिएको विद्वेषको राजनीति अझै पुरै हटेको छैन । जातिय राज्य वा अग्राधिकारको तत्कालीन माओवादी युद्धकालिन नारापछि भरिएको ह्याङओभर अझै हट्न नसक्दा यसले समाजमा जातिय विभाजन देखाएको छ । पहिलो संविधान यसै कारण असफल भएकाले मूलुक एक खालको दुर्घटनाबाट जोगिएको हो । दोश्रो संविधान जारी गर्दा केही विरोध देखिए पछि अब जातिय आधारमा राज्य हुने अवस्था आउँदैन भन्ने करिब निश्चित भएको छ । तर पनि  जनजाति आन्दोलनले ब्राह्मण क्षेत्रीलाई आफ्नो प्रगतिको बाधक ठान्ने तथा ब्राह्मण क्षेत्री समुदायको पनि जनजातिविरोधी सोच हट्न नसक्दा अझै पनि सामाजिक विभाजन र विद्वेष हट्न सकेको छैन । यसको अन्त्यका लागि नागरिक समाज अनि जनजाति तथा खस आर्य समुदायका अगुवा सबैले ठोस कदम चाल्नु आवश्यक 
छ । समाजमा विभाजन हुँदासम्म त्यसले प्रगति गर्ने अवस्था रहन्न । तर यसलाई हटाउन सकिएमा यसले देशलाई विभाजनबाट एकता र प्रगतिको बाटोमा लैजान सक्दछ । विभाजन रहँदासम्म देशले ठूलो गति लिन सक्दैन भन्ने कुरा अफ्रिकन देशहरुको इतिहास हेर्दा प्रष्ट  हुन्छ । राजनीतिक नेतृत्वले आर्थिक समृद्धिको नारा दिइरहँदा सामाजिक विभाजन हटाउनतर्फ उनीहरुको सोच आउनु जरुरी छ ।