व्यापारवृद्धिको विकल्प खोजौं

व्यास नगरपालिकाको झण्डै नौ करोड लागतमा नयाँ व्यवसायिक बहुद्देश्यीय भवन सञ्चालनमा आएको छ । नगरपालिकाले बनाएको भवनमा नयाँ सटर लिनका लागि ठूलो संख्यामा व्यापारीको आकर्षण देखियो । नगरपालिकाले तोकेको न्यूनतम मूल्यभन्दा निक्कै बढी तिरेर सटर लिनका लागि व्यवसायी तयार हुनुले सटरमा आकर्षण त देखायो यसैसँग दमौली सफासडकका व्यवसायी व्यापार घटेको गुनासो गर्न थालेका छन् । यस्तोमा एक खालको चुनौती देखिएको छ । व्यापारी आफैले निक्कै बढी भाडा तिर्न तयार रहेको भनेर भनिरहँदा अर्कोतिर त्योभन्दा सस्तो भाडा तिर्ने व्यापारी व्यापार बढाउने उपायको खोजीमा छन् । जेहोस् नगरपालिकाको सटर लिएका मात्र होइन समग्रमा सबै बजारको व्यापार बढाउनु अहिलेको आवश्यकता हो । यसको समाधान व्यापारीवृत्तले नै खोज्ने हो । आवश्यक परेमा नगरपालिकाले पनि सहजीकरण गर्नु जरुरी छ । दमौली बजारमा सदरमुकामको तहको भूमिका पहिलेभन्दा खुम्चिएसँगै व्यापार केही घट्ने निश्चित छ । यस्तोमा कमी पूर्तिसँगै अन्यत्रका ग्राहक र दमौलीका ग्राहक जो खरिददारीका लागि बाहिर जान्छन्, उनीहरुलाई आफ्नै ठाउँमा आकर्षित गर्नु नगरपालिकाको अर्को चुनौती हो । यसतर्फ नगरपालिका र व्यवसाय जगत निकै गम्भीर हुनु जरुरी छ ।