तीज गीत प्रतियोगिता महाउत्सव २०७५ मौलिक तीज गीतमा महिलाको छम्छमी नाच

 दमौली । तनहुँ सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो दमौली एफएम ९४.२ र दमौली खबर राष्ट्रिय दैनिकको आयोजनामा दमौली अनशन चौतारामा शनिबार तीज गीत प्रतियोगिता महाउत्सव २०७५ महिलाहरुको बाक्लो उपस्थितीकाबीच सम्पन्न भएको छ । 
रातो साडी, चुरा र पोते लगाएर व्यास नगरपालिका तथा आसपासबाट भेला भएका महिलाहरुले कार्यक्रममा तीज गीतमार्फत सामाजिक विकृति, महिलाविरुद्ध भएका हिंसा तथा समाजको विकासका विषयमा सन्देश दिए । महिलाहरुले गीतमार्फत महिलामाथि हिंसा गर्नेलाई कारबाही गर्न मागसमेत गरे । चर्को घाममा अनशन चौतारीको शितल छहारीमा उपस्थित महिलाहरुको बाक्लो उपस्थितीबाट कार्यक्रममा आएका अतिथिहरु पनि हौसिएका थिए । कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय सभाकी सदस्य धना खतीवडाले महिलाहरुको उत्सवजस्तै लागेको बताइन् । ‘यति धेरै दिदिबहिनी भेला भएर सकारात्मक सन्देश प्रवाह गरेको देख्दा मलाई खुशी लागेको छ,’ उनले भनिन् । उनले महिलामाथि देशव्यापी हिंसा भएको भन्दै कञ्चनपुरमा महिलाले नै अपराधी जोगाउन खोज्दा दोषीले मुक्ति पाइरहेको बताइन् । सांसद खतिवडाले महिला हिंसा रोक्न तथा दोषीमाथि कडा कारबाही गर्न आफूले राष्ट्रिय सभामा आवाज उठाउने 
बताइन् । प्रदेश सभासद सरिता गुरुङले महिलाहरुको हक अधिकार प्राप्तिका लागि आफूहरु प्रदेश सभामार्फत पहल गर्न तत्पर रहेको बताइन् । व्यास नगरपालिकाकी उप प्रमुख मिरा जोशीले कञ्चनपुरको घटनाले देश रोएको भन्दै बलात्कारीमाथि फाँसीको सजाय हुनुपर्ने माग गरिन् । उनले व्यास नगरपालिकाले फोहोरको व्यवस्थापनका लागि पहल गरिरहेको बताइन् । 
कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, नेपाल महिला संघकी केन्द्रीय सदस्य मुदती केसी,  कलाकार उपेन्द्र पन्त, सह आयोजक एकता महिला सशक्तिकरण सञ्जालकी अध्यक्ष गिरिमाया मिश्रलगायतले बोलेका 
थिए । कार्यक्रम निकै भव्य र मौलिक संस्कृति जोगाउने अभियानमा महत्वपूर्ण भएको आयोजक तनहुँ सञ्चार सहकारी संस्था लि. का कार्यवाहक अध्यक्ष परशुराम गिरीले बताए । विगतका वर्षहरुदेखि नै मौलिक तीज संस्कृति जोगाउन कार्यक्रम गरिएको तनहुँ सञ्चारका सचिव हरिशरण पण्डितले बताए ।
दमौली एफएम ९४.२ र तनहुँ टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको कार्यक्रमको सञ्चालन सहकारीकी कोषाध्यक्ष चिनु पोख्रेल तथा समाचार प्रस्तोता चिनु पोख्रेलले गरेका थिए । 
कार्यक्रमका उपस्थित सहभागीलाई लोक गायिका सरिता मगरले नृत्यमार्फत मनोरञ्जन प्रदान गरेकी थिइन् ।
नागपँधेरी प्रथम
१५ टिम सहभागी प्रतियोगितामा व्यास ५को  नागपँधेरी आमा समुह प्रथम भएको छ । आदिकवि भानुभक्त क्याम्पसकी उप प्राध्यापक कल्पना लम्साल संयोजकत्वको लोक कलाकार विष्णु खड्का, लोक गायिका सरिता मगर तथा नृत्य प्रशिक्षक सर्जन थापा सदस्य रहेको निर्णायक मण्डलले व्यास १ को सामुदायिक आमा समुहलाई दोश्रो घोषणा गरेको छ ।  व्यास १ को एकता दिदिबहिनी समुह तृतीय भएको प्रतियोगितामा  व्यास ११ को शिव मन्दिर आमा समुह र व्यास ५ को  मिलिजुली दिदि बहिनी समुह सान्त्वना भएका छन् । व्यास ३ को व्यास नगर आमा समुहलाई उत्कृष्ट नृत्य तथा व्यास १४ को  साना किसान आमा समुहलाई उत्कृष्ट भेषभुषाको पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार मोर्डन अटो वक्र्स यामाहा शोरुम दमौली, दोश्रो पुरस्कार तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार ईकाइ, तेश्रो पुरस्कार निर्माण व्यवसायी आरसी पौडेल तथा सान्त्वना पुरस्कार वैदिक पूजा सामग्री भण्डारले प्रायोजन गरेको थियो । उत्कृष्ट नृत्य र भेषभुषाको पुरस्कार हेमा ब्युटि पार्लर दमौलीले प्रायोजन गरेको थियो ।