एड्भान्स सिमेन्ट दैनिक ६ हजार बोरा उत्पादन

 दमौली । तनहुँको आँबुखैरेनीमा स्थापित एड्भान्स सिमेन्ट उद्योगले हाल दैनिक ६ हजार
बोरा  सिमेन्ट उत्पादन भैरहेको जनाएको छ । 
शुरुमा अरनिको आँबुखैरेनी सिमेन्ट उद्योगको नाममा स्थापित उद्योगले उत्पादनको क्षमता वृद्धि गरेको हो । स्थानिय युवा उद्यमीको लगानीमा स्थापना गरिएको सो उद्योगले यसअघि अरनिको सिटिजन र अरनिको गोल्ड नामका दुई ब्राण्डका पिपिसी र पिएससी सिमेन्ट उत्पादन गर्दथ्यो । केही वर्षयता भने एड्भान्स ब्राण्डको उद्योगको उत्पादन देशैभर प्रसिद्ध बनिरहेको उद्योगका व्यवस्थापक राजु श्रेष्ठले जानकारी 
दिए । उद्योगको उत्पादन क्षेत्र तनहुँसहित छिमेकको गोरखा,लमजुङ सहित धादिङ काठमाडौं,कास्की,चितवन,उदयपुर लगायतका जिल्लाबाट विस्तार भएर हाल देशैभर पुगेको छ । आसपासमा कुनै पनि सिमेन्ट उद्योग नभएकाले यहाँको उत्पादनले राम्रो बजार पाईरहेको छ । शुरुमा ५० टन क्षमताको मेसिनबाट सिमेन्ट उत्पादन गरेको उद्योगको क्षमता हाल तीन सय टन पुगेको र दैनिक ६ हजार बोरा सिमेन्ट उत्पादन भैरहेको उद्योग व्यवस्थापनले बताएको छ । सिमेन्टको गुणस्तर राम्रो भएकाले अहिले विभिन्न जिल्लाहरुबाट माग बढिरहेको बताउँदै व्यवस्थापक श्रेष्ठले माग बढेकै कारण उद्योगले उत्पादन क्षमता वृद्धि
गरेको जानकारी दिए । ‘अहिले भैरहेको उत्पादन सबै बिक्री भैरहेको छ,’ श्रेष्ठले भने, ‘माग नै पुरा गर्न नसकिने भएकाले उत्पादन क्षमता वृद्धि गर्ने निर्णय गरेका हौं ।’ हाल उद्योगका उत्पादनले देशैभर राम्रो बजार पाएका कारण पनि क्षमता विस्तार गर्दै अघि बढेको उद्योग व्यवस्थापनको भनाई छ । शुरुमा स्थानीय युवाको मात्र लगानी भएको उद्योगमा हाल अन्य क्षेत्रबाट पनि लगानीकर्ता थपिएका छन् । यसले उद्योगको लगानी तथा उत्पादन क्षमता दुवैमा वृद्धि भएको देखिएको छ । उद्योगले सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने क्लिंकर,फ्लायर्स,स्ल्याक,जिप्सन
लगायतका कच्चा पदार्थ भारत र नेपालको पुवी क्षेत्रबाट आयात गर्ने गरेको छ ।