धिमा गतिको औद्योगिक विकास

पर्याप्त सम्भावना बोके पनि तनहुँमा औद्योगिक विकासले गति लिन सकेको छैन । जिल्लाका राजमार्ग क्षेत्रको सुगमता पर्यटकीय विकासका लागि उत्कृष्ट ठानिएको छ । बीच भागबाट गएको राजमार्ग, नजिकैका स साना खोला तथा नदी, विद्युतको सहज उपलब्धता अनि सहज यातायातको सुविधा आदि पूर्वाधारका आधारमा तनहुँलाई औद्योगिक हिसाबले विकास गर्न 
सकिन्छ । औद्योगिक विकास अघि बढाउनका लागि पूर्वाधारको सम्भावना भएको भनेर चर्चा भएको पनि लामै समय भैसक्यो तर अझै पनि चर्चामै सीमित छ । जिल्लाको आँबुखैरेनी क्षेत्र सिमेन्ट तथा विभरेज उद्योगका लागि हबजस्तै बन्न पुगेको छ । तर त्यसबाहेक लामो पृथ्वी राजमार्गका भागमा विकास हुन सकेको छैन । शेराटारमा स्थापित सूर्य टोबाको कम्पनीबाहेक यस क्षेत्रमा ठूला औद्योगिक पूर्वाधार विकास हुन सकेका छैनन् । यदि यी क्षेत्रमा थप उद्योग स्थापना गर्न सकिएमा प्रादेशिक राजधानी पोखराको बजारबाट लाभ लिन सकिन्छ । नजिकै बजारको ठूलो सम्भावना भएको क्षेत्र र यस क्षेत्रमै ढुवानीका लागि पनि सहजता भएका कारण तनहुँमा उद्योग स्थापना भएमा लगानीकर्तालाई  फाइदा हुन 
सक्छ । अनि जिल्लामा लगानी भएमा तनहुँले प्रशस्त औद्योगिक विकासबाट फाइदा पनि लिन सक्दछ । तर तनहुँमा लगानीयोग्य पूर्वाधार तयारीमा स्थानीय सरकार अनि प्रदेश सरकारको ध्यान जानु जरुरी छ ।