दुर्घटना रोक्ने काइदा

तनहुँस्थित पृथ्वी राजमार्गमा दुर्घटना हुनु नौलो होइन । दुर्घटनाको संख्यामा कमी नहुन थाले पछि बेला बेला यसका कारणहरुबो समीक्षा पनि हुने गरेको छ । सवारी साधनको गति पत्ता लगाउनका लागि राखिएको राडार गनको तथ्यांकका आधारमा हेर्ने हो भने अत्यधिक दुर्घटना नै तनहुँमा दुर्घटनाको कारण देखिएको छ । यसअघि पनि तनहुँमा दुर्घटना रोक्नका लागि टाइम कार्ड लागु गरिएको थियो । तर पछि हटाइयो । दुर्घटनाको प्रमुख कारण अत्यधिक गति भएको थाहा हुँदा हुँदै पनि त्यसलाई रोक्न ट्राफिक प्रहरी असफल भएको थियो । तर राडार गन लागू भए पछि राजमार्ग हुँदै सञ्चालन हुने सवारी साधनको गति कम हुन थालेको र यसले दुर्घटनामा समेत कमी गराएको ट्राफिक प्रहरीको दाबी छ । तर प¥याप्त मात्रामा ट्राफिक प्रहरीको अभाव, अनि उपकरणको समेत अपर्याप्तताले दुर्घटना घटाउने अभियान सफल बन्न सकेको छैन । राजमार्गमा राडार गन भए पनि अन्यत्र त्यो सुविधा छैन । केही समयअघि मात्र डुम्रे बेसिसहर सडकमा दुर्घटना घटेको थियो । राजमार्गमा दुर्घटना घटेको भनिए पनि ट्राफिक प्रहरीसँग अभाव भएको जनशक्ति र उपकरणले उसलाई राजमार्गमै सीमित बनाएको छ । पहिलो कुरा ट्राफिक नियमको अनुगमनका लागि पर्याप्त मात्रामा ट्राफिक प्रहरी जनशक्ति अनि आवश्यक उपकरण पनि हुनु जरुरी छ । यसबाहेक ट्राफिक प्रहरीले पनि राजमार्गमै मात्र सीमित नभएर सहर तथा ग्रामीण क्षेत्रमा पनि हेर्नु जरुरी छ । सहरी क्षेत्रमा बजारभित्रका सडकमा मोटरसाईकल चालकहरुले चलाउने गति सबैका सामु प्रष्ट छ । तर कसैलाई पनि बढी गतिमा बजार क्षेत्रमा सवारी चलाएको भनेर ट्राफिकले कारबाही गरेको उदाहरण छैन । दमौली बजारभित्रका केही दुर्घटनामा यस्ता अति गतिमा सवारी चलाउने मोटरसाईकल चालक कारक बनेका छन् । बजारमा जति गतिमा चलाउँदा पनि कारबाही भोग्नु नपर्ने उनीहरुले त्यही गति अन्यत्र झनै बढाउँदा पनि दुर्घटना बढेको छ । ट्राफिक प्रहरीले बजार क्षेत्रमै सबैका सामू नियम उल्लंघन गर्नेमाथि कडा कारबाही गर्न थालेमा अत्यधिक गतिको धेरै समस्या हट्न सक्छ । सँगै सम्बद्ध निकायले आवश्यक जनशक्तिको वृद्धि गरेर श्रोत साधनसम्पन्न बनाउने हो भने दुर्घटना न्यूनीकरणमा ठूलो योगदान हुनेछ ।