अन्यौलमा कृषि ज्ञान केन्द्र किसान र कर्मचारी दुवैमा अलमल

 दमौली । दमौली अनशन चौतारीमा रहेको यसअघिको जिल्ला कृषि विकास कार्यालय अब कृषि ज्ञान केन्द्रमा परिणत भएको छ । प्रदेश सरकारले कार्यालयलाई कृषि ज्ञान केन्द्रका रुपमा राख्ने घोषणा गरेसँगै एकखालको अनिश्चय देखिएको छ । पहिलेकै ठाउँमा भएकाले यसअघि बीउ अनि अन्य परामर्शका लागि आउने सेवाग्राहीहरु अझै पनि कार्यालयमा आउँछन् । स्थानीय तहमा कृषि एकाई विस्तारित भए पनि सबै ठाउँमा प्रभावकारी काम नभएकाले धेरैको आशा कृषि कार्यालयमै छ । 
अझ प्रदेशकै कृषि कार्यालय बनेको सुनेका किसान कृषिका गुनासा तथा बीउ लिन भन्दै कार्यालयमा आउने क्रममा कमी आएको छैन । तर प्रदेश सरकारबाट चल्ने भनिएको कार्यालयको खास ढाँचा अझै प्रष्ट नहुँदा कर्मचारीहरु अन्यौलमा छन् । 
कृषि योजना अधिकृत ज्योती शर्मा भन्छिन्,‘कसरी के काम गर्ने भन्ने प्रष्ट कार्यादेश आइसकेको छैन ।’ यसका आधारमा कर्मचारीको कामको टुंगो नलागे पनि पुरानै काम लिएर आउने सेवाग्राहीको संख्या नघट्दा कर्मचारीलाई काम गर्न कठिनाइ परेको छ । पहिलेका सेवा दिन सक्ने अवस्थामा कार्यालय नभए पछि टाढाबाट आएका सेवाग्राही फर्किएका छन् । देवघाटबाट आएको बताउने एक महिलाले बीउ पाउने आशामा आए पनि नपाएकाले फर्कन लागेको बताइन् । 
प्रदेश सरकारको अंगका रुपमा स्थापित कृषि ज्ञान केन्द्रले स्थानीय तहहरुमा कृषिसम्बन्धी प्रशिक्षण तथा प्रविधि हस्तान्तरणको काम गर्नुपर्ने हो । तर प्रदेश सरकार आफै पनि अन्यौलमा रहेकाले हालसम्म यसको स्पष्ट खाका र बजेट आइ नसकेको अधिकारीहरुको भनाई छ । 
हाल कार्यालयले बजारमा आएको मल तथा एकाईहरुमार्फत तथ्याङकहरु संकलन मात्र काम गरिरहेको छ । केन्द्रका प्रमुख तेजप्रसाद दवाडीले केही समयभित्रै काममा स्पष्टता आउने विश्वास गरे ।  तर आर्थिक वर्ष शुरु भएको लामो समयसम्म पनि केन्द्रको काममै अन्यौलता देखिंदा यसले गर्ने काममा पनि समस्या देखिने सम्भावना छ ।