अनशन चौताराको रात्रिकालीन सौन्दर्य कैलाश विकास बैंकको सहयोगमा मुहार फेरियो

दमौली अनशन चौतारामा राखिएका सडक पेटीका कारण केही समययता स्वरुप परिवर्तन भएको त सबैले महसुस गरेकै हुन् । तर रात्रीकालिन अवस्थाबारे भने सबैलाई थाहा नहुन सक्छ । दिउँसोमा सफा र सुन्दर पेटीमा बस्दै चियाको चुस्की लिनेहरुलाई बेलुकीपखको दृश्यले भने झनै लोभ्याउँछ । व्यास ३ वडा कार्यालयको सक्रियतामा चौताराको मर्मत, सडकको विस्तार र पेटीमा इंट बिच्याएसँगै बदलिएको अनशन चौतारीमा साँझपख देखिने दृश्यले कुनै ठूलै पर्यटकीय गन्तव्यको झल्को दिने गरेको छ ।
 
बजार तथा आउने जोकोहीका लागि साँझपख चौतारीमै बसेर शितलता प्रदान गर्ने उद्देश्यका साथ वडा कार्यालयले ल्याएको बत्ती जडान गर्ने योजनामा सोही ठाउँमा भवन भएको कैलाश विकास बैंकले साथ दिए पछि अहिले साँझपख मनमोहक दृश्य देखिन थालेको छ । बैंकले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्र्तगत टोलमा बत्ती जडानका लागि सहयोग गरेको शाखाका प्रबन्धक मोहन थापाले बताए । बैंकले ३२ वटा पिल्लरमा बत्ती जडानका लागि एक लाख ४३ हजार सहयोग गरेको हो । ‘सामाजिक उत्तरदायित्वअन्र्तगत गरिएको सहयोगले छुट्टै सौन्दर्य दिएको छ,’ बैंकका थापाले भने,‘यसले हामीलाई पनि खुशी बनाएको छ ।’
 
अनशन चौतारामा भएका सबै चौतारामा बत्ती जडान गरिएको छ । रंगिचंगी बत्तीहरुले साँझपख छुट्टै शोभा दिएको वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले बताए । दुई सय ८६ फुट लामो चौताराको शुरुवातदेखि अन्त्यसम्म नै बत्ती जडान गरेर साँझ पर्नासाथ बाल्ने गरिएको छ । बजारको मुख्य भागलाई सार्वजनिक भेला हुने थलोका रुपमा विकास गरिएको वडा सदस्य रबिन पौडेलले बताए । ‘वडाको सुन्दरताका लागि थप काम हुँदैछ,’ उनले भने । वडाले पहिलो चरणमा सडकको कालोपत्रे मर्मत गर्दै क्षेत्रफल बढाएको थियो । लगत्तै नालाको व्यवस्थापन र फुटपाथका रुपमा इंट् बिच्छ्याएको थियो । भावी दिनमा अनशन चौतारामा यसअघि रहेको खेल मैदानलाई व्यास नगरपालिकाले पार्क बनाउने योजना बनाएकाले अहिले थपिएका पूर्वाधारले त्यसलाई सघाउ पुग्ने देखिएको छ । यसअघि फुटबल मैदानका रुपमा प्रयोग भए पनि सोही मैदानबाट दमौली अस्पताललाई सोझो बाटो निकालिएको छ । सोही मैदानबाट समन्वय समितिमा जाने बाटो निकालिएपछि मैदान फुटबल खेल्नका लागि साँघुरो भएको थियो । बीपी वनवाटिकालाई मैदानका रुपमा विकास गर्ने नगरपालिकाले निर्णय गर्नुअघि नै जिल्ला समन्वय समितिले चौरलाई पार्कका रुपमा विकास गर्न अनुमति दिएको थियो ।