सफासडकको तीज उपहार कार्यक्रम सार्वजनिक

व्यास नगरपालिका सफासडकस्थित व्यापारीहरुको संस्था सफासडक नमूना टोल व्यवस्थापन समितिद्वारा सञ्चालित सफासडक तीज विशेष उपहार योजनाको नतिजा सार्वजनिक गरिएको छ ।  व्यास नगरपालिकाको नवनिर्मित बहुउद्दशीय भवनको प्राङ्गणमा आयोजित कार्यक्रममा सार्वजनिक नतिजाअनुसार प्रथम पुरस्कार व्यास न.पा.–५ निवासी उदय श्रेष्ठलाई परेको छ । सहेनाज फेन्सी पसलबाट सामान खरीद गर्दा प्राप्त गरेको कुपन नं ०३७२४ बाट प्रथम पुरस्कार ३२ ईञ्चको एलजीको एलइडी टीभी श्रेष्ठले पाएका हुन् । उनकी आमा विद्या श्रेष्ठले सामान खरिद गर्दा छोराको नामबाट कुपन लिएकी थिइन् ।
 
 
 
उपहार कार्यक्रम समितिका संयोजक बिन्दुकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने प्रमुख अतिथि थिए । मनोरञ्जनात्मक नाचको प्रस्तुतीका बीचमा नतिजा सार्वजनिक गरिएको थियो । सफासडक नमूना टोल व्यवस्थापन समितिले सफासडकस्थित कुनैपनि व्यापारिक केन्द्रबाट कम्तिमा ५०० रुपैयाको सामान खरीद गरे बापत एक कुपन निशुल्क उपलब्ध गराइएको थियो ।  सोही कुपनबाट उपहार पाउने भाग्यशाली ग्राहकको नाम गोलाबाट छनौट गरिएको समितिका सचिव रजिनलाल श्रेष्ठले जानकारी दिए ।