नेपालको परराष्ट्र नीतिमा ज्ञानको प्रयोग

 दमौली  । तनहुँका रोटरीयनहरुलाई परराष्ट्र नीतिका बारेमा प्रशिक्षण प्रदान गरिएको छ । 
रोटरी क्लब अफ दमौलीले आयोजना गरेको कार्यक्रममा परराष्ट्र मामिलाका जानकार शिवप्रसाद तिवारीले परराष्ट्र नीतिको परिचय दिंदै परिवर्तित परिवेशमा यसको आवश्यकताबारे बताए । 
नेपालजस्तो मूलुकमा परराष्ट्र नीतिको सन्तुलन निकै आवश्यक रहेको भन्दै उनले देशको दूरगामी भविष्मा यसले प्रभाव पार्ने बताए । स्तम्भकारसमेत रहेका तिवारीले नेपालजस्तो मूलुक दुई ठूला महाशक्तिको चेपुवामा पर्नसक्ने भन्दै देशको हितमा आधारित परराष्ट्र नीति अभ्यासमा आउनुपर्ने बताए । कुनै देशको समर्थन वा बिरोधभन्दा पनि राष्ट्रिय महत्वका आधारमा नीति लिनुपर्ने उनले बताए । 
तिवारीले ज्ञानका आधारमा परराष्ट्र नीति तय हुनुपर्नेमा जोड दिए । कार्यक्रममा रोटरी डिष्ट्रिक्ट को चियर हरिसिं गुरुङले रोटरी शिक्षाका बारेमा सहभागीलाई प्रशिक्षण दिएका थिए । क्लबका अध्यक्ष सन्तोषकुमार श्रेष्ठले समाजका विभिन्न क्षेत्रका ज्ञान सदस्यहरुमा हस्तान्तरण गर्ने क्रममा प्रशिक्षण गरिएको बताए । यसलाई नियमित बनाउने उनले बताए ।