थप्रेकमा प्रशासनको शिविर

 दमौली  । जिल्ला प्रशासन कार्यालय तनहुँले जनताको घरदैलोबाटै सेवा दिने उद्धेश्य सहित शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा शनिबार शिविर सम्पन्न गरेको छ । शिविरमा ८९ जना सेवाग्राहीलाई नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । 
शिविरमा ४६ जना महिला र ४३ जना पुरुषलाई नागरिकता वितरण गरिएको प्रजिअ शर्माले बताए । उनका अनुसार शिविरमा पूर्ण अपाङ्गता भएका १८ वर्षीय आशिष ढकालले समेत नागरिकता बनाएका थिए । सोही अवसरमा ९७ जना सेवाग्राहीले मतदाता परिचयपत्र बनाएका छन् भने ८८ जना सेवग्राहीले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ्गले जनताको घरदैलोमा नै सेवा दिने उद्धेश्यले प्रशासनले गरेको कार्य सराहनीय भएको बताए ।
शिविरमा जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत रामप्रसाद ढकालको नेतृत्वमा ५ जना कर्मचारी खटिएका थिए । 
त्यस्तै स्वास्थ्य चौकीका कर्मचारी र निर्वाचन कार्यालयका कर्मचारी समेत शिविरमा खटिएका थिए । यसअघि जिल्ला प्रशासन कार्यालय तनहुँले साउन महिनामा देवघाटमा शिविर आयोजना गरेको थियो । उक्त शिविरमा ३ सय १७ जना सेवाग्राहीलाई नागरिकता वितरण गरिएको थियो । 
प्रशासनले प्रत्येक महिना एउटा स्थानीय तहमा पुगी सर्वसाधारणलाई सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ । स्थानीय तहमा पुगी सेवा प्रवाह गर्ने शिलशिलामा स्थानीय तहसँग समन्वय गरिने प्रजिअ शर्माले जानकारी दिए ।
प्रशासनले दुर्गम स्थानलाई प्राथमिकता दिँदै नागरिकता प्रमाणपत्र, राहदानी, बजार अनुगमन एवं अन्य सेवा लिँदा पु¥याउनुपर्ने प्रक्रिया र कागजातको सन्दर्भमा स्थानीय तहको संयोजनमा स्थानीय तहका 
निर्वाचित प्रतिनिधि र कर्मचारीसँग समेत अन्तरक्रिया र अनुशिक्षण कार्यक्रम गर्ने योजना 
बनाएको छ ।