बलात्कार आरोपीलाई कारबाही गर्न नागरिक दबाब

कञ्चनपुरमा भएको निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने अभियुक्त अझै कारबाहीको दायरामा आउन सकेका छैनन् । बलात्कार घटना घटेको लामो समय भए पनि अझैसम्म प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन न नै अनुसन्धान सकेको छ । अनुसन्धान गतिलो नभएको र दोषीलाई पहिचान गर्न नसकेको भनेर नेपाल प्रहरीको इतिहासमै बढी आलोचना भएको छ । त्योभन्दा बढी अपराधी जोगाउन प्रहरीले शुरुदेखि नै खेलेको भूमिकाको आलोचना भएको छ । आलोचना बढ्दै गएपछि सरकारले हस्तक्षेप गरेर काम देखाउन खोजे पनि अझैसम्म ठोस काम देखिएको छैन । देशमा कानुन र शक्ति हातमा छ भने जस्तोसुकै अपराधबाट पनि मुक्ति पाउन सकिन्छ भन्ने सन्देश घटनाले दिन खोजेजस्तो देखिन्छ । ठूला राजनीतिज्ञ तथा कानुन हातमा भएको व्यक्तिको साथ पाएका कारण घटनाको वास्तविक अनुसन्धान हुन नसकेको गुनासो आम बनेको छ । यति विघ्न हुँदा पनि अनुसन्धानले ठोस गति पाउन नसक्नु र वास्तविक दोषी पहिचान हुन नसक्नुलाई सरकारको लापरबाही नै भन्न सकिन्छ । यस घटनामा वास्तविक अपराधीलाई जोगाउन नदिन र चाँडो सत्यतथ्य बाहिर ल्याउनका लागि नागरिक समाजको दबाब नपुगेको महसुस गरिएको छ । भारतको दिल्लीमा भएको निर्भया बलात्कार प्रकरणमा जसरी देश तातेको  थियो । त्यसैगरी यस घटनामा देश तात्न सकेको छैन । शक्तिको दुरुपयोग गरेर अपराध लुकाउने घटना अन्यत्र पनि घट्न सक्छ । यसर्थ कञ्चनपुरको एक शक्तिहिन परिवारको मात्र नठानी भावी दिनमा देशकै समस्या हुन सक्ने ठानेर नागरिक समाजले सरकारमाथि सत्यतथ्य ल्याएर दोषीमाथि कारबाहीको दबाब दिन ढिलो भैसकेको छ । देशैभर एक खालको तरंग ल्याउनु जरुरी छ । डाक्टर केसी प्रकरणझैं तब मात्र यस प्रकरणमा पनि आशा लाग्ने प्रगति हुन सक्दछ ।