अपाङ्गता समावेशी तालिम शुरु

 दमौली  ।  नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाको आयोजनामा भुकम्प प्रभावित समुदायमा रहेका अपाङ्गता भएका व्यक्ति तथा परिवारका लागि सशक्तिकरण र समावेशीकरण सम्बन्धी पाँच दिने तालिम शुरु भएको छ । सोसाइटी जिल्ला शाखा र स्वावलम्बन समुहका पदाधिकारी तथा सदस्यहरु गरी ३० जना सहभागी तालिमको शाखा सभापति कृष्णहरी वाग्लेले उद्घाटन गरे । उनले गरिब दिन दुखीहरुको सेवा गर्ने र विपद्मा परेका व्यक्तिहरुलाइ सहयोग गर्ने गरी रेडक्रस स्थापना गरिएको बताए । उनले अपाङ्ता भएका व्यक्तिहरुको उत्थानको लागि प्रशिक्षण कार्यक्रम शुरु गरिएको बताए । कार्यक्रममा शाखाका उप सभापति ऋषिराम पोख्रेल, मन्त्री चिनु पोख्रेल,कोषाध्यक्ष हरिशरण पण्डित, उपमन्त्री ईन्द्रप्रसाद पौडेल तथा कार्य समिति सदस्य ज्ञानराज थापाले शुभकामना व्यक्त गरे । तालिममा कार्यक्रम अधिकृत करुणानिधि भट्टराइृले अपाङ्गता समावेशी कार्यक्रमले हाल सम्म संचालन गरेको कार्यक्रमहरु र उद्देश्यबारे जानकारी दिए । तालिममा ह्युम्यानिटी इन्क्लुजन संस्थाका कर्मचारीहरुले सहजीकरण गर्ने सोसाइटीले जनाएको छ ।