यातायातमा अनुगमनको खाँचो

सार्वजनिक सेवाका क्षेत्र मध्ये सबैभन्दा प्रभावशाली र धेरैलाई असर पार्ने क्षेत्रका रुपमा चिनिन्छ, यातायात सेवा । तर धेरैलाई सेवा दिने यो क्षेत्र पछिल्लो समयमा विकृतियुक्त बन्न पुगेको छ । सेवाका नाममा मनपरी छाएको छ । सार्वजनिक यातायातका साधनले यात्रुलाई सेवाका साथमा सन्तुष्टि पनि दिनुपर्ने हो । तर उनीहरुको सेवाबाट समग्रमा यात्रु सन्तुष्ट भएका पाईदैनन् । सेवा व्यवसाय मनले जितेर दिइने व्यवसाय हो । जसबाट सेवाग्राहीलाई सेवासंगै भित्रैदेखि खुशी र राहतको अनुभुत होस् । तर नियाल्ने हो भने नेपालको यातायात सेवाले त्यसो गरेर यात्रुको मन जित्न पर्याप्त कदम चालेको छैन । मिठासपूर्ण व्यवहार गर्नुपर्नेमा सवारीका सहचालकहरु रुखो व्यवहार गर्छन् । सीट क्षमता भन्दा बढी यात्रुलाई कोचाउनु त उनीहरुको दिनचर्या नै बन्ने गरेको छ । यात्रुलाई सवारी नियमबारे जानकारी गराउनुपर्ने दायित्व समेत बोकेका सवारीका चालक अनि सहचालक दुबै यो विषयमा गम्भीर पाईंदैनन् । धेरैजसो साना खालका सवारी साधनहरु ओभरटेक गर्ने क्रममा दुर्घटना भएर मानवीय क्षति भएका उदाहरण हाम्रा सामु प्रशस्तै छन् । यस बाहेक सवारी साधनले दिनुपर्ने विद्यार्थी छुट स्थानीय रुटमा दिइए पनि लामो रुटमा दिइंदैन । सरकारले विद्यार्थीलाई छुट दिन भनेर व्यवसायीलाई सोही अनुसारको निर्देशन दिएको छ । तर व्यवहारमा कतै पनि लागू हुँदैन । सवारी धनी तेलको भाउ बढेको कुरा गर्छन् । तर प्रायः एक पटक तेलको भाउ बढ्दा पछि सम्मलाई हुने गरी यातायात सेवाको मूल्यवृद्धि गरिन्छ । सरकारले सहुलियत दिए वापत यातायात व्यवसायीले पनि केही सहुलियत पाएका छन् । तर पनि उनीहरु विद्यार्थी छुट दिनु आफ्नै नाफा काट्नु जस्तो ठान्छन् । यी र यस्ता धेरै कमजोरीका पक्ष यातायात सेवामा छन् । नेपालको यातायात सेवाले ख्याती कमाउन नसक्नुमा यिनैलाई कारक ठान्न सकिन्छ । यसको सुधारका लागि सरकारी निकाय अनि सरोकारवाला नागरिक समाजले दबाब र खबरदारी गर्नु अहिलेको आवश्यकता हो ।