आन्दोलनको अराजक राजनीति

अहिले देशमा चिकित्सक, चालक तथा सबैजसो क्षेत्रका व्यक्तिहरु आन्दोलनमा उत्रन थालेका छन् । आफ्ना माग पुरा गराउनका लागि आन्दोलनको सहारा लिने गर्नाले अहिले देश आन्दोलनमय बन्न पुगेको छ । गल्ती गरेमा कारबाहीको प्रावधान राख्दा नै चिकित्सक वा चालकहरु तर्सने र आन्दोलन हुने हो भने उनीहरुले गल्ती गर्न पाउने लाइसेन्स मागेझैं पुष्टि भएको छ । कुनै पनि गल्ती वा कमी कमजोरी सुधार्न सकिने ठाउँ हुन्छन् । तर जोकोहीले पनि आफूलाई कानूनभन्दा माथि वा कानुनै नलाग्ने गरी माग गर्दै आन्दोलनमा उत्रनु अराजकता हो । आन्दोलन गरेमा जे पनि पुरा हुनुपर्छ भन्ने नजिर पनि खडा हुनुहुन्न । अहिले चिकित्सक र चालकले थालेको आन्दोलनले गल्ती गर्ने छुट मागेजस्तो देखिन्छ । चालकले ज्यान मार्ने नियतले घटना घटाएमा उ दोषी हुनैपर्छ । ठिक हिसाबले सवारी चलाउनेमाथि कुनै कारबाही हुँदैन । चिकित्सकका हकमा पनि लापरबाही नगरी सेवा दिनेमाथि केही हुँदैन । तर गम्भीर लापरवाहीका घटना बढिरहँदा पनि गल्ती र लापरवाहीको छुट मागेरगरिएको आन्दोलन किमार्थ सहि छैन ।