ऋषिङमा कांग्रेसको शुभकामना आदानप्रदान

         दमौली । नेपाली कांग्रेस ऋषिङ्ग गाउँपालिका वडा कार्य समिति वडा नं ८ ले क्रियाशिल सदस्यहरुबीच बडादशैं तथा दिपावली को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा संविधान सभासद झुलबहादुर आलेले पार्टी एकजुट भएर बलात्कार जस्ता सामाजिक अपराधको त्रास हटाउन र महंगी जस्ता कुराहरुको विरुद्ध उभिनुपर्ने आवश्यकता औंल्याए । ‘कांग्रेस आफ्नै लागि हो र आफ्नो लागि आफै संगठन निर्माणमा लाग्न पर्दछ । सबै क्रियाशिल सदस्य आफैमा लोकतान्त्रीक मानवको द्योतक हो त्यसैले क्रियाशिल सदस्यको महत्व बुझ्नुपर्दछ’ उनले 
भने ।
गाउँपालिकाका अध्यक्ष एवं कांग्रेस क्षेत्रीय सभापति राजेन्द्रकृष्ण श्रेष्ठले नेतृत्वले तालमेल मिलाउन नसक्दा निर्वाचनमा पराजय भोग्नुपरेको बताए । उनले सरकारले थोपरेका करहरुको भार जनतालाई नथोपर्ने बताए । उनले जनताका काम गर्नको लागि आवश्यक पूर्वाधार देखि भवन, जनशक्तिको अभावलगायत कारण समस्या परेकाले अबका दिनमा बाँकी योजना सम्पन्न गर्न लागिपर्ने प्रतिबद्धता जनाए । उनले पाटीले गरेका कामहरुको बारेमा सुचित गर्नको लागि कुनै कार्यकर्ता चुक्न नहुने बताए ।
वडा संयोजक भरतकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाल शिक्षक संघ ऋषिङ गाउँ सभापति महेन्द्रकुमार श्रेष्ठ, महिला संघका वडा संयोजक विष्णुमाया थापा, नेपाली कांग्रेस वडा नं ७ का संयोजक दुर्गाबहादुर थापा, वडा उप सभापति सोमबहादुर राना र सचिव निरकुमार श्रेष्ठले बोलेका 
थिए ।