अब व्यास क्षेत्रमा एउटै समिति

 दमौली  । व्यास क्षेत्रको विकासका लागि अस्तित्वमा रहेका दुई समिति एकिकृत हुने भएका छन् । एकिकृत समितिले नै व्यासको एक सय आठ फिट अग्लो मूर्तिको काम अघि बढाउने भएको 
छ । व्यास क्षेत्र शिव पञ्चायन मन्दिर संरक्षण को २६ औ वर्षिक साधारण सभाका क्रममा यस्तो समझदारी भएको हो । 
यसअघि नै सरोकारवालाहरुले एकिकृत समिति बनाउनुपर्ने माग गरेका थिए । अब व्यास क्षेत्र विकास कोष र व्यास क्षेत्र शिव पाञ्चायन मन्दिर संरक्षण समिति एक भएर व्यास क्षेत्र शिव पाञ्चायन विकास कोष नाम राख्ने निर्णय भएको छ । व्यास क्षेत्र शिव पाञ्चायन मन्दिर संरक्षण समितिको २६ औं साधारण सभाले दुवै समिति एकिकृत गरेर व्यासको काम अघि बढाउने निर्णय गरेको सभामा सहभागी वेद अनुयायी प्रतिष्ठानका जिल्ला अध्यक्ष कृष्णकान्त काफ्लेले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले मन्दिरको संरक्षण सबैको दायित्व रहेको बताए । उनले एकिकृत समितिबाट व्यास क्षेत्रमा चाँडै एक सय आठ फिट अग्लो मूर्ति स्थापना हुने र यसले देशैभर पहिचान पाउने बताए । जिल्ला समन्वय समितिकी उप–प्रमुख पवित्रा पौडेलले मन्दिरको पुनर्निर्माण गरि संरक्षण गर्नु पर्ने बताइन् । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मन्दिरको संरचनाको लागि व्यास नगरपालिकाले आर्थिक सहयोग गर्ने बताए । उनले अब एकिकृत समितिमा व्यासको नाम रहे पनि मन्दिरको पनि संरक्षण हुने बताए । संरक्षण समितिका अध्यक्ष प्रेमप्रकाश भटराईले हाल सम्म यस मन्दिरको संरक्षणका लागि सहयोग गरेको भन्दै नरहरि पण्डितलाई आजीवन सदस्यमा चयन गरे ।
आगामी असोज २७ गते हुने दुवै समितिको एकिकरणपछि नयाँ कार्य समिति चयन गर्ने निर्णय कार्यक्रममा भएको छ ।