वैदेशिक रोजगारीको आत्महत्या साइनो भीमादमा दुई महिनामा १० को मृत्यु

 दमौली  । भीमाद नगरपालिकामा भदौ र असोज महिनामा मात्र १० जनाले आत्महत्या गरेका छन् । नगरपालिकाका विभिन्न भागमा आत्महत्या गर्नेमा सबै महिला छन् । महिलालाहरु सबै विवाहित 
छन् । वैवाहिक सम्बन्धमा आएको दरार तथा पारिवारिक झैझडाका कारण विवाहित महिलाले आत्महत्या गरेको पाइएको ईलाका प्रहरी कार्यालय भीमादका प्रहरी सहायक निरीक्षक कमल गुरुङले बताए । लगातारजसो नै आत्महत्याका एक पछि अर्को घटना भएको उनले बताए । गत जनैपूर्णिमाको दिन पोखरा निवासी २६ वर्षीया नम्रता गुरुङले भिमादको आफ्नो माइती घरमा आत्महत्या गरिकी थिइन् । 
आफ्नो श्रीमानसँग झणडा परेकाले यस्तो भएको गुरुङले बताए । गत असोज ९ गते चन्दा भण्डारीले श्रीमानसँग झगडा भएको भन्दै आत्महत्या गरेको प्रहरीको तथ्यांकमा छ । वैदेशिक रोजगारीका कारण परिवारमा देखिएको असमझदारीले घटना बढाएको प्रहरीको भनाई छ । प्रहरी सहायक निरीक्षक गुरुङले घटनाहरुमा धेरेजसो वैदेशिक रोजगारीमा रहेका श्रीमानका श्रीमती रहेकाले पनि वैदेशिक रोजगारीसँग धेरै घटनाको साइनो देखिएको बताए । असमझदारी र विवाहेत्तर सम्बन्धले पनि कतिपय घटनामा कारकको भूमिका खेलेको जानकारहरुको भनाई छ । जिल्लाका अन्य भागमा समेत आत्महत्याका घटना बढिरहेका छन् । पुरुषका तुलनामा महिलाले बढी आत्महत्या गरेको पाइएको छ । 
पछिल्लो समय आत्महत्या सामाजिक समस्याका रुपमा देखा परेको जानकारहरु बताउँछन् । जिल्ला प्रहरी कार्यालय तनहुँले हरेक वर्ष निकाल्ने आत्महत्याको तथ्यांकमा पनि आत्महत्याबाट मृत्यु हुनेका संख्या बढ्दै गैरहेको देखिने गरेको छ । सामाजिक समस्याकै रुपमा आत्महत्या देखा परेकाले यसको निराकरणका लागि सम्बद्ध पक्षहरु लाग्नुपर्ने नागरिक समाजको भनाइ
 छ ।