शिक्षणमा आकर्षणले जन्माएको चिन्ता

अहिले देशैभर चलेको शिक्षक सेवा आयोगको परीक्षामा धेरै आकर्षित देखिए । देशैभर परीक्षा दिने नयाँ तथा पुराना शिक्षकको अवस्था हेर्दा देशमा सबैभन्दा बढी आकर्षण भएको पेशामा शिक्षणलाई लिन सकिने अवस्था पैदा भएको छ । हेर्दा शिक्षाजस्तो सिकाउने क्षेत्रमा धेरैको आकर्षण हुनुलाई सकारात्मक मान्न सकिए पनि वास्तविकता त्योभन्दा पर छ । देशमा आकर्षण हुनुपर्ने पेशा शिक्षण नभएर व्यवसाय, प्राविधिक विषय तथा अन्य उत्पादनका क्षेत्रमा बढी हुनुपर्ने हो । देशको अर्थतन्त्र सेवा क्षेत्र भन्दा व्यवसाय तथा अन्य प्राविधिक क्षेत्रले बढी चलाउँछ । उत्पादनमूलक क्षेत्रको रोजगारीमा हुने आकर्षणले उत्पादन क्षमता बढाउँछ । अर्थतन्त्रमा हुने लगानी र उत्पादनले देशको आयस्तर बढाउन मद्दत गर्दछ । यसले अन्ततोगत्वा अर्थतन्त्र सबल हुने र राष्ट्र पनि बलियो हुने अवस्था आउँछ । तर नेपालको शिक्षा प्रणाली उत्पादनमूलक भन्दा पनि शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो बनेको शिक्षणमा देखिएको यति धेरै आकर्षणले पुष्टि गरेको छ । हुन त कुनै पेशा तुच्छ वा ठूलो भन्ने हुँदैन । सबै पेशामा कोही न कोही लाग्नै पर्दछ । तर देशको ठूलो युवाको हिस्सा शिक्षणमै लाग्ने चाहनाले राष्ट्रका लागि सहि अर्थमा हित भने गर्दैन । देशको ठूलो शक्ति उत्पादनमूलक क्षेत्रमा लगानी नहुँदासम्म राष्ट्रको आर्थिक अवस्था उकासिन्न । शिक्षा क्षेत्रले धेरैलाई रोजगारी दिने ल्याकत पनि राख्दैन । यसर्थ शिक्षा क्षेत्रले उत्पादन गर्ने जनशक्ति शिक्षक मात्र नभएर समाजका अरु क्षेत्रका लागि र खासगरी आयस्तर बढाउने कार्यमा बढी हुन नसकेको अवस्था अहिले देखिएको छ । शिक्षाका नीति निर्माता र राजनीतिज्ञले यसमा ध्यान दिनु जरुरी छ ।