किरियापुत्री भवन निर्माणका लागि छङ्गेलीको सहयोग

 दमौली  ।व्यास–३ स्थित व्यास गुफा क्षेत्रमा निर्माणाधीन किरियापुत्री भवनका लागि छङ्गेली नेवाः खल दमौलीले १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
उक्त रकम खलका अध्यक्ष क्या. तारालाल मल्लले किरियापुत्री भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई प्रदान गरेका हुन् । रकम हस्तान्तरण गर्दै मल्लले भवन निर्माणका लागि संस्थाको तर्फबाट सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
सहयोग रकम ग्रहण गर्दै समितिका अध्यक्ष लम्सालले किरियापुत्री भवनको निर्माण कार्य सम्पन्न गर्नका लागि समितिले सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको उल्लेख गर्दै हालसम्म सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।
व्यास–३ स्थित व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन ८ कोठे उक्त भवन ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने समितिले जनाएको छ । व्यास नगरपालिकाको ८० प्रतिशत र बाँकी स्थानीय लागत सहभागितामा उक्त भवनको निर्माण कार्य सम्पन्न गरिने बताइएको छ ।