चटपट र पानीपुरीमा फोहोर

             संजय श्रेष्ठ दमौली  ।दमौली बजारमा बिक्री हुने चटपट तथा पानीपुरीका अधिकांश भाँडा फोहोर पाइएको छ । महिनौ दिनसम्म पनि भाँडोको सफाइ नभएको अनुगमनका क्रममा भेटिएको छ । 
व्यास नगरपालिकाको सक्रियतामा गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधिसमेत सहभागी अनुगमन टोलीले गरेको अनुगमनका क्रममा बजारका अधिकांश चटपट पसलको सफाइमा सुधार गर्नुपर्ने देखिएको गुणस्तर तथा नापतौल कार्यालय तनहुँका प्रमुख शिवजी बरालले बताए । ‘पानीपुरीमा मिसाइएको खाद्य पदार्थ पनि फोहोर भेटियो,’ उनले भने ।
यसैगरी अनुगमनकै क्रममा मिठाई पसलको सफाइमा समेत कमी देखिएको बरालले 
बताए । धेरै मिठाइ पसलमा सरसफाई कमजोर देखिएको उनले बताए । चाडबाड नजिकिएसँगै बजार अनुगमन थालिएको छ । बजारका १४ वटा पसलको अनुगमन गरिएकामा चारवटा किराना पसलमा म्याद नाघेका पेय पदार्थ बिक्री वितरण गरेको पाइएको बरालले बताए । अबका केही दिन नियमित अनुगमन गर्ने तयारी गरिएको छ । अनुगमनका क्रममा भेटिएका म्याद नाघेका पदार्थ नष्ट गरिएको र फोहोर गर्ने तथा म्याद नाघेका बिक्री गर्नेलाई सचेत पारिएको गुणस्तर नापतौल प्रमुख बरालले बताए ।