निर्मलमा सिभिल ओभरशियर पढाई

 दमौली  । निर्मल माध्यमिक विद्यालयले सिभिल इञ्जिनियरिङको पढाई थालेको छ । विद्यालयले पहिलो पटक विहानी कक्षमा कक्षा शुरुवात गरेको हो । पढाइको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरे । तीन वर्षका लागि शुरु गरिएको कक्षा विहानी सत्रमा चल्ने प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले बताए । 
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सीटीइभीटीबाट सम्बन्धन पाएपछि विद्यालयले पढाइ थालेको हो । निर्माण हुन लागेको तनहुँ जलविद्युत आयोजनालाईसमेत लक्षित गरेर दक्ष जनशक्ति उत्पादन गर्न सकिने हिसाबले पढाइ थालिएको बस्नेतले बताए ।
कार्यक्रममा जिसस प्रमुख वाग्लेले अहिलेको माग र आवश्यकता दुवै प्राविधिक शिक्षा भएको बताए । उनले शिक्षा शुरु भए पछि तनहुँमै दक्ष जनशक्ति उत्पादन हुने र रोजगारीसमेत बढ्ने अपेक्षा गरे । उनले तनहुँ जलविद्युत आयोजनामा जिल्लाका जनशक्ति राखिनुपर्ने भन्दै विद्यालयका उत्पादनले रोजगारी पाउने अपेक्षा गरे । वडाध्यक्ष खरसिं दरैले विद्यालयले शिक्षामा सुधार गर्दै गैरहेको बताए । पूर्वअध्यक्षसमेत रहेका उनले प्राविधिक शिक्षा थपिएसँगै विद्यालयमा आकर्षण थप बढ्ने विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर दरैले विद्यालयले सुधार योजनाअनुसार भौतिक विकास र शिक्षामा थप सुधार गर्ने बताए ।
कार्यक्रममा व्यास नगरपालिकाको शिक्षा शाखाका स्रोतव्यक्ति नारायणदत्त पौडेल, विहानी सत्रका संयोजक शिवलाल पन्थ, शिक्षक अभिभावक संघकी अध्यक्ष सिर्जना तिवारी, व्यास नगरपालिकाका पूर्व इन्जिनियर एवंम् पूर्व विद्यार्थी रविन्द्रलाल मुल, शिक्षक लोकराज सेढाई, दिपक सुनार, बशन्त मल्ल लगायतले बोलेका थिए ।