तनह“ु जलविद्युतको ठेक्का सम्झौतामा हस्ताक्षर निर्माण शुरु हुन मंसीरसम्म कुर्नुपर्ने

 दमौली  । विभिन्न शंका तथा उपशंकाकाबीच तनहुँ हाइड्रोपावर लिमिटेडले एक सय ४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यका लागि निर्माण कम्पनीहरुसँग सोमबार ठेक्का सम्झौता गरेको छ । यसअघि आयोजना निर्माण पक्षले सम्झौतामा ढिलाई गरेर निर्माण कम्पनीहरुसँग आर्थिक चलखेल गर्न खोजेको आशंका गरिएको थियो । यसअघि नै भैसक्नुपर्ने सम्झौतामा ढिलाइ भएसँगै दशैंपछि काम शुरु गर्ने अपेक्षा गरिएकामा अब त्यो मंसीरसम्मका लागि धकेलिएको छ ।
आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि यसअघि छनोट भएको इटालियन कम्पनी सिएमसी सँग सम्झौता भएको आयोजनाका प्रेस संयोजक सचेन गौतमले बताए । तनहुँ हाड्रोपावर लिमिटेडकातर्फबाट  प्रवन्ध सञ्चालक प्रदीपकुमार थिके र सिएमसीकातर्फबाट आधिकारिक प्रतिनिधि सालभाटोरे कसियारोले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाखमा खरिद सम्झौता भएको आयोजनाले जनाएको छ । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका कामका लागि यसअघि नै छनौट भएको चिनिया कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडसँग सम्झौता भएको छ । तनहुँ हाड्रोपावर लिमिटेडका तर्फबाट  प्रवन्ध सञ्चालक प्रदीपकुमार थिके र सिनो हाइड्रोकातर्फबाट आधिकारिक प्रतिनिधि छेङ सोएस्याङले हस्ताक्षर गर्नु भएको हो । कम्पनीसँग करबाहेक ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर अर्थात ३ अर्ब ८३ करोड १४ लाख रुपैयाँमा खरिद सम्झौता भएको हो । 
दुवै प्याकेजको निर्माण कार्य दुई महिनापछि काम सुरु गर्ने र सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएको छ । प्रवन्ध सञ्चालक थिकेले तनहुँ जलविद्युत आयोजना कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजना भएको र विद्युतको लोड व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना भएकाले निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई आग्रह गरे । उनले आयोजना निर्माण  निर्धारित  समयमा सम्पन्न गर्र्ने प्रतिबद्धताका लागि तनहुँ हाइडूोपावर लिमिटेड र निर्माण कम्पनीहरुका उच्च तहको व्यवस्थानबीच दशै अगावै छलफल गर्न लागिएकोले सोही अनुसार तयारी गर्न आग्रहसमेत गरे । निर्माण कम्पनीहरुले आयोजना निर्धारित समयमै सम्पन्न गर्र्ने प्रतिबद्धता जनाएका थिए । 
तनहुँ हाइड्रोपावर लिमिटेडले गत ७ साउनमा  बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको थियो । 
पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका ५ कम्पनीहरुमध्ये ३ वटाले र दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनोट भएका ३ वटा कम्पनीहरुमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए । 
आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि बोलपत्रको मुल्याङन भइरहेको आयोजनाले जनाएको छ ।   
नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । तनहँुको ऋषिङ गाउँपालिका–१ मा कार्यालय तथा कर्मचारी आवास गृह निर्माणको काम अन्तिम चरणमा छ । जलाशय क्षेत्रको जग्गा प्राप्तिका लागि ९५ प्रतिशत मुआब्जा वितरण भइसकेको आयोजनाको भनाइ छ ।