सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप

सुरक्षाका निकायका सामु गर्नुपर्ने कामका सूची लामा हुन्छन् । नेपालको प्रहरी खासगरी अनुसन्धान र घटनाको तहकिकातमा विश्वमै उत्कृष्टमध्येमा पर्ने विभिन्न तथ्यांकहरुले बताउँछन् । तर त्यही नेपाल प्रहरी पछिल्लो समय निकै विवादमा आएको छ । चाहे सुन तस्करीका घटना होस् वा कञ्चनपुर बलात्कारपछि हत्या प्रकरण र तनहुँमै पनि बलात्कार अभियुक्त जनप्रतिनिधि पक्रने मामिला, यी सबैमा प्रहरी चुकेको टिप्पणी हुने गरेको छ । प्रहरीको काम शासनमा सुव्यवस्था ल्याउनु हो । तर यी कामका लागि प्रहरीमा आउने दबाबले भूमिका खेलेको टिप्पणी हुन थालेको छ । कठिन अनुसन्धान र अरु पाटाका अलावा चरम राजनीतिक दबाबका कारण पनि प्रहरीले सहजतापूर्वक काम गर्न नपाएको आरोप लाग्ने गरेको छ । यसले गर्दा जुनसुकै घटनामा पनि वास्तविक अनुसन्धान र कारबाही नहुने खतरा देखा पर्दछ । र, यो विधिको शासनको बर्खिलाप हो । शक्तिमा रहेका बेला आफू अनुकुल चलाउन खोज्नुले भोली शक्तिमा नहुँदा आफूलाई नै पीडा दिन सक्छ । निष्पक्षरुपमा प्रहरी प्रशासनलाई काम गर्न दिने हो भने जोसुकै जहाँ भए पनि नियमअनुसार काम हुन्छ । राजनीतिक नेतृत्वले त प्रहरी प्रशासनले गरेका गलत कामकोसमेत खबरदारी गर्नुपर्ने हो । तर त्यसो नहुँदा विधिको शासनको खिल्ली उडिरहेको छ ।