दशैं बजार शनिबारबाट

दमौली  । व्यास नगरपालिकाले सञ्चालनमा ल्याउन लागेको दशैं सस्तो बजार शनिबारबाट सञ्चालनमा आउने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई समितिको संयोजनमा दमौली अनशन चौताराको प्रस्तावित पार्क निर्माण क्षेत्रमा बजार सञ्चालनमा आउन लागेको हो । 
यसका लागि तयारी अन्तिम चरणमा पुगेको एकाइका सभापति राजकुमार श्रेष्ठ राकुले 
बताए । बजारमा ९८ वटा स्टल रहने गरी ठाउँ निर्धारण भएको छ । तोकिएका ठाउँभित्र कृषि उपजसहित विभिन्न खालका स्टल राखिने तयारी गरिएको नगरपालिकाका वरिष्ठ आलेप अधिकृत कुमारकञ्चन जिसीले बताए । ‘व्यवसायीको संयोजनमा दशैंमा सुपथ मूल्यका पसल सञ्चालन गर्न लागेका हौं,’ उनले भने । हाल बजार सञ्चालन गर्न लागिएको ठाउँमा स्टलका लागि ठाउँ अंकन गर्ने काम सकिएको छ । बजारमा तरकारीका लागि २० वटा, फलफूलका २०, टिका तथा मालाका २०, अग्र्यानिक कृषि उत्पादनका १० का साथै खाद्यान्न, कृषि औजार, कस्मेटिक आदिका लागि पनि ठाउँ छुट्याइएको छ । तर मेलामा लत्ताकपडाको बिक्री भने नहुने देखिएको छ ।रमाईलोका लागि रोटे पिङ एउटा र दुई वटा लिंगे पिङको तयारी गरिएको एकाई सभापति श्रेष्ठले 
बताए । बजारमा व्यापारीका लागि सरसफाईबाहेकका लागि शुल्क नतोकिए पनि इच्छुक बढी भएमा भने गोलाप्रथाबाट छनोट गरिने भएको छ । 
‘९८ स्टलका लागि गाउँका किसान र सडक व्यापारीले प्राथमिकता पाउनेछन्,’ श्रेष्ठले भने,‘अन्यले पनि इच्छाएमा गोला प्रथाबाट छानिनेछ ।’ उनले सम्भवतः शनिबारबाट बजार सञ्चालनमा आउने जानकारी दिए ।