बेल उद्योगले फलफूलका जुस उत्पादन गर्ने वातावरण संरक्षणस“गै स्थानीयको आयमा योगदान

 म्याग्दे २ जामुनेमा स्थापित माउण्टेन सामुदायिक बेल प्रसोधन उद्योगले फलफूलका जुससमेत उत्पादन गर्ने भएको छ । स्थानीय ६ सामुदायिक वनसँगको सहकार्यमा स्थापित उद्योगले २०७१ सालयता बेलका जुस उत्पादन गर्दै आइरहेको छ । शुरुमा बेल जुस उत्पादनका लागि खोलिए पनि अब उद्योगले स्थानीयस्तरमा उत्पादित फलफूलका जुससमेत उत्पादन गर्ने लक्ष्य राखेको सञ्चालक विष्णुकुमार श्रेष्ठले बताए । यसको माग बढ्दै गएको छ । ‘हाम्रो उत्पादनको माग बढिरहेको छ,’ उनले भने,‘थप अन्य उत्पादनसमेत गर्न सकिएमा अझै आम्दानी बढ्नेछ ।’
उद्योगले हाल वार्षिक रुपमा २५ सय बोतल बेलका जुस उत्पादन गरिरहेको छ । अब स्थानीयस्तरमा उत्पादन हुने सुन्तला, अदुवा, कागती, सुन्तला र लप्सीको समेत जुस बनाउने तयारी उद्योगको छ । माउण्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रसोधन उद्योग म्याग्दे २ जामुनेको सार्वजनिक शुनुवाई सम्पन्न भएको छ । स्थानीय ६ सामुदायिक वनका उपभोक्ता सम्मिलित उद्योगले २०७१ सालयता बेलको जुस उत्पादन गर्दै आइरहेको छ ।  
७ सय ५० मिलिको बेलको जुस पोखरा तथा काठमाडौंसम्म निर्यात भैरहेको छ । उद्योगले किसानबाट उद्योगमै प्रति केजी रु १५ तथा वनबाट प्रति केजी रु १० मा बेल खरिद गरिरहेको छ । उद्योगलाई नियमित बनाउँदै आय बढाउनका लागि थप विकल्प खोजिएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष केशबहादुर रानाभाटले बताए । ज्यान्ट्याङ पँधेरा सामुदायिक वनका अध्यक्ष ईश्वर रानाभाटले उद्योगलाई दिगोकालसम्म सञ्चालन गर्नका लागि पहल हुनु सकारात्मक भएको बताए ।
उद्योगमा ६ सामुदायिक वनले ८ लाख ६० हजार शेयर लगानी गरेका छन् । यसबाहेक हरियो वन कार्यक्रमले उद्योग स्थापनाका लागि ३० लाख १५ हजार सहयोग गरेको थियो । उद्योग हाल आफ्नै भवनमा सञ्चालित छ ।
वनमा खेर गैरहेका बेलको सदुपयोग गरेर स्थानीय समुदायको आयआर्जनका लागि उद्योगले भूमिका खेलेको हरियो वन कार्यक्रम सञ्चालन गरिरहेको असल छिमेकी सहयोग संघ गोनेसाका कार्यक्रम अधिकृत निरजबाबु भट्टले बताए ।