युवकको मृत्यु ‘शंकास्पद’

 दमौली  । गत शुक्रबार डुम्रेस्थित एक सुनचाँदी व्यवसायीको घरमा मृत भेटिएका भानु ४ चुँदीनिवासी 
दीपक सुनारको मृत्युलाई आफन्तजनले शंकास्पद भन्दै घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । 
उनीहरुले दमौलीमा विरोध प्रदर्शन गर्दै घटनालाई दबाउन खोजिएको बताएका छन् । डुम्रेका स्थानीय सुनचाँदी व्यवसायी भक्तबहादुर विकको घरमा सुनचाँदी विकको घरमा कार्यरत सुनारको शव शंकास्पद अवस्थामा देखिएको आफन्तको दाबी छ ।उनीहरुले मंगलबार दिनभर प्रहरीमा घटनाको गहिरिएर अनुसन्धानका लागि दबाब दिएका थिए । चुँदीका महाप्रसाद न्यौपानेले आफूहरुलाई घटना आत्महत्याजस्तो नलागेकाले विरोधका लागि आएको बताए । यद्यपि प्रहरी श्रोतले भने दमौली अस्पतालबाट प्राप्त पोष्टमार्टम रिर्पोटमा झुण्डिएर मृत्यु उल्लेख भएको बताएको छ । 
प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले घटनास्थलको मुचुल्काका आधारमा घटना आत्महत्या भएको जस्तो देखिएको बताए । प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको उनले दाबी गरे ।   प्रहरीले दिएको घटनाको मुचुल्का विवरणमा मृतक भित्रबाट थुनिएको भनिएको कोठामा बाहिरबाट मानिस जानसक्ने अवस्था नरहेको र घरधनी विकसमेत बाहिरबाट थुनिएको अवस्थामा रहेको उल्लेख गरेको छ । घटनास्थलको प्रहरी निरीक्षक बाबुराम पोख्रेल नेतृत्वको टोलीले मुचुल्का उठाएको थियो । तर आफन्तले भने झुण्डिएको भन्ने आधार प्रष्ट नभएको । घाँटीको उल्टो भागमा डाम देखिएको र मृतकको शरिरमा चोटसमेत रहेको जिकिर गरेका छन् ।