विपद् न्यूनिकरणका लागि आपतकालिन नमुना अभ्यास

 दमौली  । अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी तनहुँ जिल्ला शाखा र कोसिस नेपालको संयुक्त आयोजनामा दमौली अनशन चोकमा अपाङ्गता समावेशी विपद् न्यूनीकरणसम्बन्धी आपतकालिन नमूना अभ्यास गरिएको छ । अभ्यासका क्रममा भुकम्प गएको घटनामा पाँच घाइतेको उद्धारको नमूना देखाइएको थियो । भुकम्पपश्चात टोली नेताले खोज तथा उद्धार टोली र प्राथमिक उपचार टोली परिचालन गरेका  थिए । प्राथमिक उपचारपश्चात घाइतेहरुलाई अस्पताल पठाइएको नमूना देखाइएको थियो । अस्पतालबाट उपचार पश्चात फर्केका घाइतेहरुलाई ह्विलचियर, बैशाखी, सेतो छडी, खाद्यान तथा लत्ता कपडाको सेट  प्रदान गरी मनोसामाजिक परामर्श सेवा सहित प्रदान गरिएको नमूना देखाइएको नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाका अपाङ्गता समवेशी अधिकृत करुणानिधि भट्टराईले बताए । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौंपानेले नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाले विपद् न्यूनिकरणको लागि सचेतना जगाउन गरेको नमूना अभ्यासको प्रशंसा गरे उनले  आगामी दिनमा पनि समुदायस्तरमा सचेतना जगाउन यस्ता विपद् न्यूनीकरण सम्बन्धी अभ्यासहरु गर्नु पर्ने बताए । 
सोसाइटीका सभापति कृष्णहरि वाग्लेको सभापतित्व तथा न शाखाका नमूना अभ्यास कार्यक्रमका टोली नेता कृष्णचन्द्र पाण्डेको नेतृत्वमा भएको कार्यक्रममा शाखाका मन्त्री चिनु पोखरेल, ह्युम्यानिटी एण्ड इन्क्लुजनका कर्मचारी कुश्माखर न्यौपाने, कोशिश नेपालका कर्मचारी बसन्त भट्ट लगायतले मन्तव्य राखेका थिए ।