धार्मिक महोत्सवमा ६५ लाख संकलन

 दमौली  । शुक्लागण्डकी नगरपालिकाको धार्मिक पर्यटकीय स्थल तीन खोले देवी मन्दिर क्षेत्रको विकासका लागि सञ्चालित श्रीमद् देवी भागवत सप्ताह ज्ञान महायज्ञ तथा तीन खोले देवी धार्मिक महोत्सवका क्रममा ६५ लाख आर्थिक संकलन भएको छ । महायज्ञमा शक्लागण्डकीका डिल्लीराज पौडेलले एक लाख २१ हजार रुपैयाँ दान गरेका थिए ।
मन्दिर क्षेत्रमा धार्मिक पूर्वाधार तयार पार्नका लागि भन्दै महोत्सव आयोजना गरिएको थियो । महोत्सव अवधिभर शुक्लागण्डकी तथा आसपासका सामाजिक व्यक्तिहरुबाट उल्लेख्य दान संकलन भएको महोत्सवका प्रचार संयोजक अर्जुन सापकोटाले बताए । तीन खोलाको संगममा रहेको मन्दिर मनोकांक्षा पुरा हुने विश्वासका माझ चर्चामा छ । मन्दिर क्षेत्र जाने बाटोको स्तरोन्नती, मन्दिर क्षेत्रलाई विस्तारका लागि जग्गा खरिद तथा थप संरचना निर्माण गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक मूल समारोह समितिका अध्यक्ष श्रीराम अधिकारीले बताए । व्यक्तिहरुबाट उत्साहजनक आर्थिक संकलन भएकाले सरकारी निकाय समेतको साथबाट मन्दिर क्षेत्रको वृहत्तर विकास गर्ने लक्ष्य राखिएको प्रवक्ता सापकोटाले बताए । मन्दिर नजिकै रहेको करिब ६ रोपनी खेतसमेत किनेर वृहत्तर विकासका लागि योजना बनाइएको सापकोटाले बताए । महायज्ञको समापनका क्रममा गण्डकी प्रदेश सांसद आशा कोईरालाले मन्दिरको विकासका लागि प्रदेश सरकारमार्फतसमेत सहयोगको प्रतिवद्धता जनाइन् । शुक्लागण्डकी नगर प्रमुख किसान गुरुङले मन्दिरको विकासका लागि नगरपालिका तयार रहेको बताए ।