सार्वजनिक सवारी कम चले

 दमौली  । दशैंका बेला प¥याप्त सार्वजनिक यातायातका साधन नचल्दा यात्रुहरुलाई समस्या परेको छ । यसअघि दशैंका बेला प¥याप्त सार्वजनिक सवारीका साधन चलाउनका लागि पहल गर्ने प्रशासनले बताए पनि शुक्रबार सडकमा निकै कम सवारीका साधन चलेका थिए ।
निजी कारको संख्या टिकाको मध्यदिनबाट निकै बढी भए पनि सार्वजनिक सवारी साधन कम चल्दा पृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रुहरु सवारी कुरेर बसेका थिए । बढी भाडा लिनेमाथि कडा कारबाही गर्ने प्रहरीको चेतावनीपछि बढी भाडा असुल्न नपाइने आशंकामा कम सवारी चलेको ठानिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रामबहादुर भट्टले सार्वजनिक सवारी केही कम चलेको पाइएको बताए । 
तर निजी सवारी साधन बढी चल्दा सडकमा जाम हुने अवस्था देखिएको छ । तनहुँका ग्रामीण रुटहरुमा पनि सार्वजनिक यातायातका साधन कम चलेको पाइएको छ । 
यसले टाढा टिका लगाउन जानेहरुलाई समस्यामा पारिदिएको छ ।