व्यासको पर्यटकीय सम्भावना ‘गलेखामकोटको पर्यटकीय विकास आवश्यक’

दमौली  । धार्मिक तथा प्राकृतिक पर्यटकीय दृष्टिले सम्भावना बोकेको व्यास ६ स्थित गलेखाम कोट भैरव देवीको मन्दिर तथा दरबार क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्ने आवाज उठेको छ ।
समुद्रको सतहबाट करिब दुई हजार मिटरको उचाईमा रहेको मन्दिर क्षेत्रबाट रमणीय दृश्य देख्न सकिन्छ । गलेखाम कोटबाट तनहँुसुरको दरबार पनि देख्न 
सकिन्छ । यसैगरी अन्नपूर्ण तथा माछापुछ्रे हिमश्रृंखलाको मनोरम दृश्य पनि दरबार क्षेत्रबाट देख्न सकिन्छ । मन्दिर क्षेत्रबाट पोखराको फेवाताल लगायत अन्य दृश्यहरु पनि देख्न सकिन्छ । मन्दिर भएकै ठाउँबाट थ्रपेक, फैचोक, ओखलढुङ्गा लगायत अन्य रमणीय ठाउँ देख्न सकिन्छ । प्राकृतिक दृश्यावलोकनका हिसाबले महत्वपूर्ण त्यस ठाउँमा रहेकी गलेखाम कोट देवीले मनोकांक्षा पुरा गरिदिने विश्वासका साथ आसपासका श्रद्धालुहरु जाने गरेका छन् ।
स्थानीय बासिन्दाहरुको भनाई अनुसार तनहँुसुरको दरबार र गलेखाम कोटको दरबारका राजाहरुबीच दाजभाईको सम्बन्ध थियो । बाइसे चौबिसे राजाहरुको पालामा  १५ सय मिटर देखि पर्खाल बनाउनको लागि ढुङ्गा ओसारेर एकै दिनमा पर्खाल निर्माण कार्य  सम्पन्न गरिएको स्थानीयबीच किंवदन्ती छ । दरबार वरपर नेपालको राष्ट्रिय फूल  लालिगुराँस पनि फुल्ने गर्दछ ।
कोटमा बाइसे चौबिसे राजाका पालामा प्रयोग हुने हातहतियार पनि रहेको थियो । तर सुरक्षाको कमीका कारण ती हातहतियार चोरी भएको गलेखाम कोट पर्यटन क्षेत्रका समितिले जनाएको छ । कार्यवाहक अध्यक्ष बालकुमारी श्रेष्ठले मन्दिर तथा दरबार क्षेत्रमा खानेपानीको समस्या धेरै रहेको बताईन् । व्यास नगरपालिकाले पनि मन्दिर र दरबार क्षेत्रको विकासको  लागि नयाँ कोट भैरवको मन्दिर र अग्लो टावर निर्माण भैरहेको स्थानीय बासिन्दा भरतराज भण्डारीले बताए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले स्थानीयबाट खानेपानीको समस्याको धेरै गुनासो आए पछि समितिलाई योजनाको लागत निर्माण गरि निवेदन पेश दिन आग्रह गरेका छन् । उनले उक्त ठाँउको विकासको  लागि सधैं लागि रहने बताए । हालसम्म उक्त मन्दिर क्षेत्रमा केही बाह्रय पर्यटन र आन्तरिक पर्यटक आईरहेको समितिले जनाएको छ ।