दशैं सुरक्षाले दिएको सन्देश

दशैंका बेला प्रहरीद्वारा बनाइएको सुरक्षा योजनाको सफलता नै भन्नुपर्छ तनहुँमा ठूला आपराधिक, दुर्घटना, झैझगडा तथा अन्य घटना धेरै सुन्नु परेन । अन्य बेला चाडबाडका समय यस्ता घटनाहरुका लागि उर्बर मानिन्छ पनि । तर यस्तो समयमा प्रहरीले बनाएको योजना, देखाएको सक्रियता अनि व्यवहारिक अभ्यासका कारण हुनसक्छ, उल्लेख गरिएका घटनाहरु ठूला परिमाणमा सुनिन पाएनन् । प्रहरीले महिला तथा किशोरीविरुद्ध हुने हिंसाका घटनामा पनि सफलता पाउन सक्दछ । अनि लागूपदार्थ दुव्र्यसनको डरलाग्दो अवस्थाबाट अन्त्यका लागि समेत प्रहरीबाट सफलता मिल्न सक्दछ । दशैंका बेला देखिएको सुरक्षा तदारुकता वास्तवमै सराहनीय थियो । मुख्यगरी चोरी र दुर्घटना नियन्त्रणमा प्रहरीको सक्रियतालाई प्रशंशा गर्न सकिन्छ । एउटा मिसनका लागि योजना र कार्यान्वयनको मिलेको तालमेल प्रहरीले लागूपदापर्थविरुद्धको अपरेशनमा पनि निरन्तर कायम राख्ने हो भने यसअघि भन्दा धेरै सफलता मिल्न सक्दछ । तनहुँमा लागूपदार्थको प्रयोग जटिल सामाजिक समस्या बन्न लागेको तथ्यबाट सबै जानकार छन् । यस्तोमा प्रहरीले यसअघि नै घोषणा पनि गरिसकेको अभियान सफल पार्न निश्चित समयसम्म बढी नै खटाइ र क्रमबद्ध कार्ययोजना सञ्चालन गर्ने हो भने सफलता टाढा छैन ।