तनहुँमा डेंगु फैलने जोखिम सतर्कताका उपाय कम प्रभावकारी

 छिमेकी चितवन र लगत्तै कास्की जिल्लामा जाडोको शुरुवातमै डेंगुका बिरामी भेटिएपछि तनहुँमासमेत यस्तो संक्रमण फैलने सम्भावना देखिएको छ । सर्न सक्ने भएका कारण नजिकैबाट तनहुँमासमेत संक्रमण फैलने सम्भावना रहेको जानकारहरु बताउँछन् ।
तनहुँमा समेत लामखुट्टेका कारण हुने संक्रमण फैलन सक्ने भएकाले सम्भावित सतर्कताका उपाय अपनाउनुपर्ने भए पनि हुन सकेको छैन । 
जिल्ला स्वास्थ्य कार्यालयले सतर्कताका कुनै उपाय अपनाएको पाइएको छैन । जाडो शुरु भए पनि अझै पनि लामखुट्टे बजारमा भेटिने गरेका छन् । एड्स एकेटिम्स जातको लामखुट्टेको टोकाइबाट रोग एकबाट अर्को व्यक्तिमा फैलन सक्ने जनस्वास्थ्य कार्यालयका अधिकृत दीपक सुवेदीले बताए ।
उनका अनुसार डेंगु सार्ने लामखुट्टेले औलो वा कालाज्वरजस्तो राती नभै दिउँसो नै टोक्ने गरेको छ । ‘उज्यालोको समयमा बढी सजग हुनुपर्ने देखिन्छ,’ उनले भने ।
उनले तनहुँमा समेत जोखिम भए पनि आफूहरुले गरेको अनुगमनका क्रममा खतरा नपाएको दाबी गरे । 
‘छिमेकका जिल्लामा देखिएपछि हामीले तनहुँमा पनि फैलन सक्ने सम्भावनाबारे अध्ययन गरेका हौं,’ उनले भने,‘तर त्यस्तो जोखिम भेटिएन ।’ 
उनले अझै पनि कतै खतरा भएको भए जानकारी दिन सञ्चारकर्मीसँग आग्रह गरे । उनले तत्काल जोखिमको अवस्था नदेखिए पनि संक्रमण फैलने अवस्था आएमा सतर्कताका लागि भने तयार रहेको बताए । जिल्लाभरकै स्वास्थ्य संस्थाहरुबाट नियमित जानकारी संकलन भैरहेको उनले बताए ।