क्रिकेटमा सम्भावना

नेपाली राष्ट्रिय टिमले पछिल्ला दिनमा उत्साहजनक प्रदर्शन गर्न नसके पनि नेपालले पछिल्ला दशकहरुमा पाएको सफलतालाई आधार मान्ने हो भने नेपालमा क्रिकेटले ठूलो फ्डको मारेको देखिन्छ । तुलनात्मक रुपमा कम लगानी भएपनि नेपालले क्रिकेटबाट पाएको सफलता उदाहरणीय छ । यसको तुलनामा धेरै लगानी भएको फुटबलले धेरै गति लिन सकेको छैन । यसो भनेर फुटबललाई तल पार्न खोजिएको हैन । तर एउटा साँचो कुरा के हो भने फुटबल जति प्राथमिकता र लगानी क्रिकेटले नपाएकै हो । अहिले देशका धेरै क्षेत्रमा युवाको आकर्षण बन्न सफल भएको छ क्रिकेट । यस्तोमा प्रतिफल धेरै दिएको र आकर्षण तथा सम्भावना पनि भएको क्रिकेट क्षेत्रमा केन्द्र र जिल्ला स्तरका खेल निकायले पनि लगानी बढाउनु आवश्यक छ । देशका विभिन्न स्थानमा क्रिकेटमा उत्साहजनक प्रदर्शन भएका छन् । नयाँ खेलाडीहरुको उत्साह र प्रदर्शन दुबै राम्रो छ । यसले पनि सरकारले लगानी बढायो भने क्रिकेटमा सम्भावना छ भन्ने शन्देश दिएको छ । क्रिकेटमा लगानी भन्नाले पूर्वाधारको विकासलाई भन्न खोजिएको हो । जिल्ला जिल्लामा क्रिकेट गतिविधि भए पनि सबै ठाउँमा व्यवस्थित क्रिकेट मैदान छैन । अनि सबैभन्दा अभाव क्रिकेट प्रशिक्षकको पनि छ । यतातिर ध्यान दिने हो भने सबैको आकर्षण भएको क्रिकेटमा नेपालल अझै धेरै प्रगति गर्न सक्छ ।