व्यास केबलमा बैकुण्ठनाथ मिश्र

 तनहुँ टेलिभिजन तथा व्यास नगर केबल नेटवर्कको सञ्चालक संस्था व्यास नगर केबल नेटवर्क प्रालिको अध्यक्षमा व्यवसायी बैकुण्ठनाथ मिश्र चयन भएका छन् । केबलको आइतबार भएको साधारण सभाले तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्षसमेत रहेका मिश्रलाई केबलको अध्यक्षमा चयन गरेको हो । साधारण सभाले संस्थाको वरिष्ठ प्रबन्ध निर्देशकमा समशेर पुरी तथा प्रबन्ध निर्देशकमा चिजा गुरुङलाई चयन गरेको छ ।
तनहुँसहित छिमेकका लमजुङ, गोरखा तथा स्याङजासम्म प्रशारण सञ्जाल रहेको केबलले पछिल्लो समय आफ्नो प्रशारण सञ्जाललाई विस्तार गर्दै गएको छ । झण्डै २० करोड पुँजीको केबल तथा केबलका प्रशारण संस्थालाई अझ परिस्कृत गर्दै लैजाने नवनिर्वाचित अध्यक्ष मिश्रले बताए । उनले डिजिटल प्रविधिसँगै आएका चुनौतीलाई सामना गर्दै संस्थालाई नेतृत्व प्रदान गर्ने प्रतिवद्धता जनाए ।
दमौलीमा सञ्चालनमा आएका तनहुँ केबल तथा व्यास केबल एकिकृत भएपछि व्यास नगर केबल नेटवर्क एकिकृत नाममा सञ्चालनमा छन् । तनहुँभरका मुख्य बजारका साना केबल नेटवर्कसमेत एउटै छातामा गएपछि तनहुँमा खैरेनीटार र दुलेगौंडाबाहेक सबै बजारमा व्यास नगर केबलकै केबल लाइन प्रशारणमा छन् । 
पछिल्लो समय सिम टीभीसमेत केबल बजारमा प्रतिष्पर्धामा आए पनि यसले बजार विस्तार गर्न सकेको छैन । यसबीचमा व्यास नगर केबलले लगानीकर्ता तथा पुँजी दुवैमा वृद्धि गरेर आफूलाई थप बलियो बनाएको छ ।