व्यानपामा मुद्दा दिने बढ्दै ४३ मध्ये १८ को फैसला

स्थानीय तहमा न्यायिक अभ्यास पुगेपछि अहिले न्यायका लागि ढोका ढक्ढक्याउनेको संख्यामा वृद्धि भएको छ । व्यास नगरपालिकाले न्यायिक अभ्यास थालेयता मुद्दा दिनेको संख्यामा वृद्धि भएको तथ्यांकले देखाएको छ । 
आर्थिक वर्ष २०७४÷२०७५ मा न्यायका लागि ४३ वटा मुद्दा दर्ता भएका छन् । दर्त भएकामध्ये १८ वटा मुद्दाको फैसाला भएको छ । नयाँ आर्थिक वर्षमा पनि मुद्दा दर्ताको क्रम चलिरहेको छ । यसले नगरको न्यायिक समितिमा मुद्दा फैसलाको चाप बढाउँदै गएको छ । फैसलामध्ये सातवटा मुद्दा मेलमिलापबाट समाधान भएको व्यास नगरपालिकाका न्यायिक समितिकी संयोजक एवं व्यास नगर उप प्रमुख मीरा जोशीले जानकारी दिइन् । ‘हामीलाई विश्वास गरेर न्यायका लागि आग्रह गर्नेको संख्या बढ्न थालेको छ,’ उनले भनिन्,‘सकेसम्म सामाजिक मेलमिलापमा जोड दिएका छौं ।’
न्यायको बाटो खोज्नेमा धेरै स्थानीय साँधसिमाना तथा बेमेलका मुद्दा 
छन् । 
छरछिमेकका सानातिना विवादसमेत समाधानका लागि समितिमा आउने गरेको जोशीले बताइन् । ‘घरपरिवार तथा टोलछिमेकका मुद्दा बढी आउने गरेका छन्,’ उनले भनिन् ।
ढल निकास, बाटो निकास, मानाचामल र सार्वजनिक जग्गाको संरक्षणको बारेमा मुद्दा दर्ता भैरहेको संयोजक जोशीले बताईन् । केही मुद्दामा भने मुद्दा दर्ता गर्ने व्यक्ति नै सम्पर्कमा नआएर स्थगित हुने गरेको छ । शुरुमा मुद्दा दर्ता गरे पनि पछि सम्पर्कमा नआउने त्यस्ता मुद्दा स्थगित हुने गरेको छ । नगरपालिकाले व्यास नगर भित्र पर्ने सबैजसो १४ वटै वडाबाट मुद्दा आइरहेको नगरपालिकाले जनाएको छ ।  
तनहुँका अन्य तहले पनि न्यायिक अधिकार पाएको भए पनि सबै तहमा मुद्दाको चाप भने पाइएको छैन । व्याससहित शुक्लागण्डकी नगरपालिका तथा बन्दीपुर र आँबु गाउँपालिकामा न्यायिक समितिमा मुद्दाका चाप बढी पर्ने गरेको बताइएको छ । 
कतिपय तहका न्यायिक समितिका संयोजक नै पूर्ण जानकार नभएको तथा सहयोगी अधिकृतहरुको ज्ञानको अभावका कारण सबै तहले सोचेजस्तो न्याय सम्पादन गर्न नसकेको तनहुँ जिल्ला अदालतका अधिकारीहरु बताउँछन् ।