सुरक्षाका लागि स्थानीय तहको सहकार्य

तनहुँसहित देशैभर स्थानीय तहहरुसँग सहकार्य गर्दै नेपाल प्रहरीको समुदाय साझेदारी अभियान शुरु भएको छ । परिवर्तित समयमा स्थानीय तहसम्मै प्रहरीको पहुँच बढाउनका लागि प्रहरीले थालेको अभियान सुन्दा आकर्षक पनि छ । तर यसको प्रभावकारीता भने कार्यान्वनयमै लुकेको छ । देश संघीयताको उत्कट बिन्दुमा पुगेका बेला स्थानीय तहसँगको साझेदारीले नेपाल प्रहरीसमेत वास्तविक संघीयताको आत्मसात गर्ने बिन्दुमा पुगेको महसुस गरिएको छ । तर नारा मात्रले शान्ति सुव्यवस्था हुने होइन । नेपाल प्रहरीसामु व्यवहारिक रुपमा शान्ति सुव्यवस्थाका लागि चालिनुपर्ने कदम धेरै छन् । स्थानीय तहमै प्रहरीको पहुँच पु¥याउनका लागि भनि थालिएको अभियानसँगै प्रहरीले समुदायमा भिज्न तथा समुदायको मन जित्नका लागि कार्यक्रम लैजानु जरुरी छ । समुदायका सबै पक्ष र वर्गलाई आफ्ना अन्याय र गुनासा प्रहरीले सुन्छ र प्रभावरहित भएर न्याय दिन्छ भन्ने आभास दिनु जरुरी छ । अनि समुदायले प्रहरीका काममा सघाउने वातावरण श्रृजना हुन्छ । यसो भएमा प्रहरी र नागरिक समाज दुवैको सहकार्य बढ्दै दुवैका उद्देश्य पुरा हुनेछन् ।