जान्नेलाई यहीं मालामाल

शुक्लागण्डकीका किसान देउबहादुर श्रेष्ठले मासिक एक लाख रुपैयाँ तरकारी बेचेरै हात पारिरहेका 
छन् । लागत कटाएर पनि उनले कमाउने नाफा राम्रै छ । व्यास ७ पाटनका कृषक केबी गुरुङले केही हजारमा किनेको जग्गामा लगाइएको जटिबुटी र फलफुलका बिरुवाबाट अहिले उनी करोडौंको मालिक बनेका 
छन् । याम्पाका कृष्णक श्रीराम भट्टराई दुध बेचेरै लाखौं कमाउँदैछन् । असल पेशा पहिचान गरेर मेहनत गरे स्वदेशमै पनि राम्रो कमाउन  सकिन्छ भन्नका लागि उनीहरुको अनुभव काफी छ । कृषिमै लगानी गरेर पनि उनीहरुले राम्रै कमाइ गरिरहेका छन् । आफ्नो रुचि अनि बजार सम्भावना हेरेर अघि बढ्ने हो भने व्यवसायिक रुपमा कृषिबाट मनग्गे कमाउन सकिन्छ भन्ने उदाहरण तनहुँमा प्रशस्तै देखिएको छ । वैदेशिक रोजगारीका लागि खोजिने ऋण सम्भावना भएको क्षेत्र पहिचान गरी कृषि व्यवसायमा लगानी गरेमा खाडी राष्ट्रमा कमाउने भन्दा धेरै रकम यहीं कमाउन सकिने युवाहरुको उदाहरणले यहीं पनि सम्भावना प्रसस्तै छ भन्ने देखाएको छ । केही गर्न चाहने युवाको कमी पनि छैन । तर उनीहरुका लागि सही मार्गनिर्देश, सीपमुलक तालिम र पुँजीको ग्यारेन्टी दिनतर्फ सरकारी निकायले कदम चालिदिने हो भने अवसरको खोजीमा रहेका धेरै युवा उत्पादनमुलक क्षेत्रमा लाग्ने सम्भावना छ । सरकारी निकायले त्यस्ता युवा समुहको पहिचान गरी आवश्यक सहयोग दिनु जरुरी छ । क्षणिक रुपमा आकर्षक कमाइ दिए पनि वैदेशिक रोजगारी मुलुकको दीर्घकालिन हितमा छैन । सम्भावना भएका क्षेत्रमा जनशक्तिको अभाव अनि उत्पादनमुलक जमिन खेर जाने अवस्थामा वैदेशिक रोजगार झनै घातक साविन हुन्छ । यसकारण सम्बद्ध निकायले योजना बनाउँदा त्यस्ता क्षेत्रका युवालाई समेट्ने कार्यक्रम ल्याउनु जरुरी छ । अनि युवाले पनि आफ्नै ठाउँमा केही गर्ने सोचका साथ गाविस, नगरपालिका लगायत विकासे निकायमा दबाब दिनु जरुरी छ ।