व्यास क्षेत्रको अझै प्रचार गरौंः चुमान

 गण्डकी प्रदेशका आन्तरिक मामिला एवं कानुन मन्त्री हरिबहादुर चुमानले व्यास क्षेत्रको अझै प्रचार प्रचार गरि विश्वमा चिनाउनु पर्ने बताएका छन् । व्यास गुफा क्षेत्रमा वेद अनुयायी प्रतिष्ठान नेपाल तनहँुको आयोजनामा संचालित विश्व ओमकार तथा हिन्दु महामिलन पर्वमा सहभागी हुँदै उनले प्रदेश सरकारले पहिले गण्डकी प्रदेशलाई पर्यटकीय क्षेत्रका रुपमा चिनाउँदै तनहँुको व्यास क्षेत्रलाई पनि चिनाउने प्रयास गर्ने बताए । 
चुमानले व्यास क्षेत्रलाई सबैको साझा सम्पदाका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारले गण्डकी प्रदेशलाई पर्यटकीय विकास गर्न भ्रमण वर्षलगायतका कार्यक्रमसमेत ल्याएको बताए । उनले तनहुँका पर्यटकीय सम्पदाहरु घुम्नैपर्ने क्षेत्रमा परेकाले समेत यस क्षेत्रको पर्यटकीय प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।
वैदिक सनातन धर्म संरक्षण समाज काठमाडौका अध्यक्ष हुमनाथ अधिकारीले व्यास क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनु पर्नेमा जोड दिए । यसका लागि विभिन्न प्रचार प्रसारमा सहयोग गरिने उनले बताए । व्यास शिव पान्चायन क्षेत्र विकास कोषका अध्यक्ष काशीनाथ  न्यौपानेले १ सय ८ फिट अग्लो वेदव्यासको मुर्ति निर्माण भए पछि यस क्षेत्रले पर्यटकीय गन्तव्यका रुपमा चर्चा पाउने विश्वास व्यक्त गरे । प्रतिष्ठानका संरक्षक शान्तिस्वरुपानन्द दामेदर बाबाले व्यास क्षेत्र नेपाल मात्र नभएर विश्वभरका हिन्दूहरुका लागि महत्वपूर्ण भएकाले प्रचारप्रसारका लागि धार्मिक समारोह गरिएको बताए । वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँका उपाध्यक्ष दुर्गाभक्त अधिकारीको अध्यक्षतामा कार्यक्रममा वैदिक सनातन धर्म संरक्षण समाज काठमाडौका सचिव सागर रिजाल लगायतले बोलेका थिए ।